काठमाडौं । अब नेपाली विद्यार्थीले विदेशमा पढ्न धितो राख्नुपर्ने झन्झट बेहोर्नु नपर्ने भएको छ । अमेरिकी संस्था एमपावर फाइनान्सिङ (MPower Financing) ले नेपालका विद्यार्थीका लागि बिना धितो र बिना जमानी शैक्षिक ऋण सुविधा ल्याएको छ।
यो योजनाअनुसार विद्यार्थीले स्नातकोत्तर तह (Postgraduate) अध्ययनका लागि अधिकतम एक लाख अमेरिकी डलरसम्म (करिब १ करोड ३० लाख रुपैयाँ) ऋण पाउन सक्छन्।
अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या हाल ३२ हजारभन्दा बढी छ। यो अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशतले वृद्धि भएको हो। यति धेरै विद्यार्थी भए पनि पढाइ खर्च जुटाउन धेरै परिवारलाई कठिनाइ छ।
नेपालका बैंकहरूले सामान्यतः जग्गा–जमिन धितो वा जमानी माग्ने गर्छन्। यसले योग्य विद्यार्थीलाई ऋण लिन कठिन बनाउँछ। यही समस्या समाधान गर्न वाशिङ्टन डीसी स्थित एमपावर फाइनान्सिङ अघि आएको बताइएकाे छ ।
एमपावरले विद्यार्थीको सम्पत्तिमाथि होइन, विश्वविद्यालय प्रवेश, अध्ययन क्षेत्र र भविष्यको आम्दानी क्षमतामाथि भरोसा गर्छ। यही कारण संस्थाले बंगलादेश, पाकिस्तान र अफ्रिकाका २० हजारभन्दा बढी विद्यार्थीलाई ऋण दिइसकेको छ। अब यो सुविधा नेपाली विद्यार्थीका लागि पनि खुला भएको छ।
विद्यार्थीले दुई हजार एक डलरदेखि एक लाख डलरसम्म ऋणका लागि आवेदन दिन सक्छन्। यो ऋणमा ट्युसन शुल्कसँगै बसोबास र अन्य खर्च पनि समावेश हुन्छ। आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइन छ। ब्याजदर स्थिर र भुक्तानी प्रणाली पारदर्शी रहेको संस्थाले जनाएको छ।
एमपावरले ऋणसँगै छात्रवृत्ति, भिसा सहयोग, र करिअर तयारीसम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्छ। विद्यार्थीले भिसा आवेदनका लागि ‘प्रुफ अफ फन्ड्स’ र रोजगार मार्गदर्शनमा समेत सहयोग पाउँछन्।
यो सुविधा विशेषगरी विज्ञान, प्रविधि, इञ्जिनियरिङ, गणित, व्यवसाय र व्यावसायिक अध्ययन गर्ने विद्यार्थीका लागि उपयोगी मानिएको छ।
संस्थाले भनेको छ— “अन्तर्राष्ट्रिय अध्ययनको सपना पूरा गर्न इच्छुक नेपाली विद्यार्थीका लागि एमपावर फाइनान्सिङले अवसर, पहुँच र आत्मविश्वास तीनै कुरा एकैसाथ उपलब्ध गराएको छ।”


