EduPress
'

अवैध रुपमा पार्किङ शुल्क उठाइएको भन्दै त्रिविको आपत्ती

Author Image
बिहिवार, मंसिर ४, २०८२
TU Cricket Stadium
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न आउने दर्शकहरुबाट पार्किङ शुल्क उठाउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्रिविको जग्गा वा परिसरभित्र त्यसरी शुल्क उठाउने गरि त्रिविले कसैलाई अनुमति नदिइएको पनि स्पष्ट पारेको छ ।

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्तो ध्यानाकर्षण भएको जनाएको हो । त्रिवि रजिस्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख लिल्ली थापाले त्रिवि परिसर वा त्रिविको जग्गामा पार्किङ शुल्क उठाउने गरि ‘कुनै पनि व्यक्ति, संघ, संस्थाहरुसँग कुनै सम्झौता नगरेको र अनुमती समेत नदिइएको’ स्पष्ट पारेका छन् ।

त्रिवि क्रिकेट रंगशाला नजिकै कीर्तिपुर विकास समाजको नाममा एक समूहले जवरजस्ति पार्किङ शुल्क उठाइएको थियो । यस सम्बन्धि एडुप्रेस एनपी अनलाइनले समाचार प्रकाशन गरेको थियो । साथै नेपाल क्रिकेट संघ, त्रिविका रजिस्ट्रारसहितका पदाधिकारीको यसबारे जानकारी पनि मागेको थियो ।

नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो संस्करण हेर्नका लागि कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जाने दर्शकबाट पार्किङ शुल्क वापत जवरजस्ती रकम असुल गर्न सुरु गरिएको थियो।

त्रिभुवन विश्वविद्यालयको हाताभित्र अनुमति नै नलिई पार्किङ शुल्क लगिएको भन्दै त्यसको व्यापक विरोध भइरहेको छ । कीर्तिपुर विकास समाजका नाममा लिग हेर्न जाने दर्शकबाट मोटरसाइकलको एक सय रुपैयाँ र गाडीको एक सय पचास रुपैयाँ उठाउने गरिएको छ ।

एनपिएलको आयोजक क्रिकेट संघ नेपाल (क्यान)ले दर्शकका लागि त्रिविको जग्गा, सार्वजनिक स्थल र सडक आसपास निःशुल्क पार्किङको व्यवस्था गरिएको बताए पनि अनधिकृत रुपमा कीर्तिपुर विकास समाज नामबाट रकम उठाउन थालिएपछि यसको चौतर्फी विरोध भएको थियो । त्रिविका रेक्टर खडक केसीले त्रिवि जस्तो एकेडेमिक र स्वायत्त संस्थाको हातामा पुगेर यस्तो जवरजस्ती अवैध गतिविधि गर्नु आपत्तीजनक रहेको बताएका थिए । उनले सामाजिक सञ्जालमा यस कार्यको विरोध गर्दै लेखेका थिए, ‘त्रिभुवन विश्वविद्यालय भित्र के भइरहेको छ रु म यस्तो अव्यवस्थापन र अवैध रुपमा जबरजस्ती असुली गर्ने कार्यको विरोध गर्दछु । कुनै पनि स्थानीय, संघीय सरकार वा व्यक्तिले स्वायत्त र एकेडेमिक संस्था भित्र अवैधानिक गतिविधिहरू गर्न पाइदैन । यो सहन गर्न सकिदैन । यो अति नै भयो ।’

त्यसैगरी त्रिवि कल्याण कोषका प्रमुख प्रमुख डा। दीपेन्द्र पराजुलीले त्रिवि स्वायत्त निकाय भएकाले त्रिविमा कसैको हस्तक्षेप नचल्ने बताएका थिए । उनले भनेका थिए, ‘यसरी कसैले पनि जबरजस्त त्रिवि परिसरमा भाडा उठाउन पाउँदैन । यो गलत हो ।’

त्यस्तै त्रिभुवन विश्वविद्यालय क्याम्पसका स्ववियु अध्यक्ष दीपराज जोशी त्रिवि परिसरमा कुनै निकायको हस्तक्षेप स्वीकार्य नहुने बताएका थिए । उनी भनेका थिए ‘त्रिवि स्वायत्त निकाय हो । यसरी मनलाग्दी रकम उठाउनु अवैध हो । यो कदापी स्वीकार्य हुँदैन ।’

शुल्क उठाउन ठूलो संख्यामा परिचालन गरिएका मानिसहरुले यसको विरोध गर्ने दर्शकसँग हुलदंगा गर्ने र धम्की दिने समेत गरेका छन् । शुल्कको विरोध गर्ने दर्शकलाई कुटौला झै गरी शुल्क उठाउनेहरु प्रस्तुत हुने गरेका छन् । मिडियाकर्मीहरुसँग पनि शुल्क उठाउनेहरु हुलदंगा शैलीमा प्रस्तुत हुने गरेका छन् । शुल्क उठाउने युवाहरु आफूहरुलाई कीर्तिपुर नगरपालिकाले जिम्मेवारी दिएर शुल्क उठाएको बताउने गरेका छन् । तर, यसबारे कीर्तिपुर नगरपालिकाले कुनै औपचारिक चिठी दिएको वा अनुमति दिएको देखिदैन ।

शुल्क उठाउन उनीहरुले ‘कीर्तिपुर विकास समाज कीर्तिपुर– ११ काठमाडौं’ लेखेको रसिद प्रयोग गर्ने गरेका छन् । कीर्तिपुर विकास समाजका नाममा उठाइएको भए पनि यो संस्थाको वैधानिकता केही पनि थाहा छैन । यसबारेमा शुल्क उठाउनेहरु केही पनि बताउन सक्दैनन । शुल्क उठाउन प्रयोग गरिएको रसिदमा ‘संकलित रकम भदौ २३ र २४ को प्रदर्शनमा क्षति भएका सार्वजनिक संरचनाहरू मर्मत तथा पुनर्निर्माण कार्यमा खर्च गरिनेछ । तर सवारीसाधनको सुरक्षाको जिम्मेवारी सवारी धनी स्वयंको हुनेछ,’ भनेर लेखिएको छ । जेनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचनाहरु मर्मत तथा पुनर्निर्माणमा खर्च गरिनेछ भनेर भनिए पनि त्यसको कुनै लेखाजोखा निर्णय छैन ।

त्रिविको जग्गामा शुल्क उठाउन त्रिविको अनुमति लिनुपर्नेमा शुल्क उठाउनेहरुले भने कीर्तिपुर नगरपालिकाले अनुमति दिएको बताउने गरेका छन् । यसबारेमा बुझ्दा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल यसबारे कुराकानी भएको तर युवाहरुले आफै शुल्क उठाएको हुनसक्ने बताउँछन् । उनले युवाहरुले शुल्क उठाएर आन्दोलनमा जलेको वडा कार्यालय भवन बनाउँछु भनेको तर औपचारिक निर्णय नभएको र अनुमति नदिइएको बताउँछन् । मेयर डंगोल आफू बाहिर भएकोले यसबारे धेरै थाहा नै नभएको बताउँछन् ।

त्रिविको हाता प्रयोग गरी अवैध रुपमा शुल्क उठाइएको भन्दै त्रिविका प्राध्यापक, कर्मचारी र विद्यार्थीले समेत असन्तुष्टि जनाएका छन् ।

यसअघि त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय, त्रिवि क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन र नेपाल क्रिकेट संघबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा त्रिविको मुख्य गेटदेखि आँखा अस्पतालसम्मको भित्री बाटोमा कुनै पनि सवारी साधन पार्किङ गर्न नगरिने उल्लेख छ । साथै सम्झौतामा एनपीएलको आयोजक क्यानले पार्किङको व्यवस्थापन अन्यत्रै गरिने उल्लेख छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिभुवन विश्वविद्यालयसँग २०५९ मा सम्झौता गरेर त्रिवि क्रिकेट मैदान प्रयोग गर्दै आएको छ । उक्त सम्झौता २०८३ वैशाख मसान्तसम्म मात्रै बाँकी छ । क्यानले मैदान भाडामा लिए पनि त्यसमा पूर्वाधार निर्माणलगायतका काममा सरकारले पनि सघाउँदै आएको छ । क्यानले जग्गा भाडाबापत वार्षिक ६ लाख, छात्रवृत्तिका लागि २ लाख र त्रिवि खेलकुदका लागि १ लाख गरी प्रति वर्ष ९ लाख रुपैयाँ त्रिभुवन विश्वविद्यालयलाई चुक्ता गर्ने गरेको छ । त्यसका साथै सोमवार गरिएको सम्झौतामा एनपीएलको दोस्रो सिजनका क्रममा हुने नाफाबाट त्रिवि विद्यार्थी कल्याण र केन्द्रीय क्याम्पस स्ववियुलाई २५ लाख रकम दिने सहमति पनि क्यानले गरेको छ ।

 

प्रतिक्रिया