EduPress
'

भ्रष्टाचार काण्डले विद्यालय तनावग्रस्त, विव्यस चयन प्रक्रिया अवरुद्ध, तनाव राेक्न विद्यालयमा प्रहरी

Author Image
शनिवार, मंसिर ६, २०८२
Text Size:

मोरङ । मोरङको एक विद्यालयमा भ्रष्टाचार भएको भन्दै ठूलो तनाव सिर्जना भएको छ । जिल्लाको जहदा गाउँपालिका वडा नं. १ भुटाहामा रहेको श्री दुर्गा माध्यमिक विद्यालयमा यस्तो तनाव सिर्जना भएको हो ।

विद्यालयको दिवा खाजामा लाखौँ रुपैयाँको भ्रष्टाचार भएको प्रकरण बाहिरिएपछि अभिभावकहरू आन्दोलित बनेका छन्। अभिभावकहरुले दिवा खाजादेखि लेखापरीक्षणसम्मका अनियमिततामा विद्यालय प्रशासनको मिलेमतो रहेको आरोप बढ्दै जाँदा विद्यालयमा तनाव चुलिएको हो।

अभिभावकहरूले प्रधानााध्यापक सन्तोष कुमार साह, शिक्षा अधिकृत दीपक खनाल र तत्कालीन विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष दिनेश ठाकुरको त्रिकोणीय मिलेमतोमा व्यापक आर्थिक अनियमितता भएको दाबी गर्दै लामो समयदेखि प्रश्न उठाइरहेका छन्। उनीहरूले दिवा खाजामा ठूलो रकम हिनामिना भएको, विद्यालयका आय–व्यय पारदर्शी नभएको र पूर्व अध्यक्ष ठाकुरले आफ्नै श्रीमती आरती कुमारी ठाकुरलाई लेखापालमा नियुक्त गरी मिलेमतोमा अनियमितता गरेको आरोप लगाउँदै आएका छन्।

यस्तै दबाब र आक्रोश अझ बढेको समयमा विद्यालयमा नयाँ विव्यस चयन गर्ने कार्यक्रम तोकिए पनि अन्तिम क्षणमा आएर प्रक्रिया रोकिएपछि अभिभावकहरू झनै आक्रोशित बनेका छन् । अभिभावकहरुले विद्यालयमा हुँदै आएको भ्रष्टाचार लुकाउन गाउँपालिकाका शिक्षा अधिकृत, विद्यालयका प्रअ समेत मिलेर पुरानै विव्यस अध्यक्षलाई अध्यक्षमा दोहोर्याउन चलखेल गरेको आरोप लगाएका छन् । विवाद बढ्दै गएपछि विव्यस चयन प्रक्रियाका लागि दिन तोकिएको थियो । तर, माहोल आफ्नो पक्षमा आउने नदेखेपछि गाउँपालिकाका शिक्षा अधिकृत र प्रअले विव्यस चयन प्रक्रिया जवरजस्त स्थगित गरेको आरोप अभिभावकहरुको छ ।

दुर्गा माध्यमिक विद्यालयमा अभिभावकहरूको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति (विव्यस( चयनको कार्यक्रम अन्तिम समयमा आएर प्रक्रिया स्थगित गरिएको हो । विव्यसको चयन प्रक्रिया अन्तिममा आएर स्थगित भएको भन्दै अभिभावकहरूले विरोधमा उत्रिएका छन् ।

अभिभावकहरूले विद्यालयका प्राध्यापक सन्तोष कुमार साह जहदा गाउँपालिका शिक्षा अधिकृत दीपक खनालसँग मिलेर यस्तो स्थिति सिर्जना गरेको आरोप लगाएका छन् । गाउँपालिकाका शिक्षा अधिकृत र प्रधानाध्यापक एकातिर र बहुमत अभिभावकहरू एकातिर भएपछि उनीहरूले प्रक्रिया स्थगित गरेको अभिभावकहरूको आरोप छ । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिनेश ठाकुरलाई नै पुनः अध्यक्ष बनाउन उद्देश्य वमोजिम प्रक्रिया स्थगित गरिएको अभिभावकहरूले आरोप लगाएका छन् । यसअघिका विव्यस अध्यक्ष रहेका ठाकुरलाई फेरि अध्यक्ष बनाउन प्र.अ. र शिक्षा अधिकृत किन मरिमेटेर लागेका छन् भन्ने अभिभावकहरूको आशंका छ ।

विरोधका क्रममा केही अभिभावकले हातपातको समेत प्रयास गर्न थालेपछि विद्यालयमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले तत्काल विरोधमा उत्रेका केहीलाइ नियन्त्रणमा लिएर सम्भावित झडप रोक्ने प्रयास गरेको छ ।

अभिभावकहरूले विद्यालयमा वर्षौंदेखि चल्दै आएको अनियमितताका विकृति हटाउन, पारदर्शिता स्थापित गर्न र शैक्षिक गुणस्तर सुधार गर्न स्थगित विव्यस चयन प्रक्रिया तत्काल पुनः सञ्चालन गरी निष्पक्ष र सर्वसम्मत समिति गठन गर्न सम्बन्धित निकायलाई माग गरेका छन्।

प्रतिक्रिया