- जगत वाशिष्ठ
काठमाडौं । सरकारले मंसिर २४ देखि फागुन ३० सम्म मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अभियान सञ्चालनका लागि देशभरका सबै विद्यालयहरुलाई अभियानका लागि तयारी गर्न पत्राचार गरेको छ । मन्त्रालयले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरुलाई पत्र पठाउँदै सो अवधिमा देशभरका सबै विद्यालयमा मानसिक स्वास्थ्य सम्बन्धि सचेतना तथा सञ्चारका क्रियाकलाप सञ्चालन गर्न आवश्यक समन्वय गर्न आग्रह गरेको छ । मन्त्रालयले किशोर किशोरी तथा युवावर्गहरुलाई लक्षित गरी विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरी मनाउन भनेको छ ।
अभियानका लागि मन्त्रालयले नारा समेत तय गरेको छ । स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ भन्ने नारा समेत तय गरिएको छ ।
यसैगरी मन्त्रालयले पुस ६ गते (डिसेम्बर २१ तारिख) दोस्रो विश्व ध्यान दिवस मनाउनका लागि मूल समारोह समिति गठन गरेको छ । शिक्षामन्त्रीको संयोजकत्वमा गठित मूल समारोह समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई सहसंयोजक राखिएको छ ।
समारोह समितिमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको संस्था प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)लाई सदस्यका रुपमा राखिएको छ । पानका राष्ट्रिय अध्यक्ष तथा शान्ति शिक्षा माध्यमिक विद्यालयका प्रधानाध्यापक सुदामप्रसाद गौतमले मूल समारोह समितिको बैठक बसेको जानकारी दिएका छन् ।


