काठमाडौँ । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित शान्ति विद्या गृह माध्यमिक विद्यालय, लैनचौर र लोकहित आधारभूत विद्यालय, भगवानबहाल ठमेललाई ४२ थान कम्प्युटर प्रदान गरेको छ।
महानगरले शुक्रबार शान्ति विद्या गृह माविमा ३२ थान र लोकहित आधारभूत विद्यालयमा १० थान कम्प्युटर हस्तान्तरण गरेको हो। कार्यक्रममा काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले समयअनुकूल प्रविधिमैत्री शिक्षालाई प्रवर्द्धन गर्दै सामुदायिक विद्यालयको गुणस्तर उकास्न कम्प्युटर उपलब्ध गराइएको जानकारी दिए। विद्यालयमा शैक्षिक सामग्रीको प्रभावकारी प्रयोग आवश्यक रहेको उल्लेख गर्दै उनले यी विद्यालयलाई महानगरकै मात्र होइन, देशकै नमूना विद्यालय बनाउनेतर्फ वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
शान्ति विद्या गृह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कामपा–२६ का पूर्ववडाध्यक्ष वर्षाराम भण्डारीले ऐतिहासिक विद्यालयको शैक्षिक उन्नयनका लागि स्थानीय सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे। त्यस्तै, विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद ढकालले शिक्षा सुधारका लागि स्थानीय तहको पहल सराहनीय रहेको बताउँदै गुणस्तरीय नतिजा हासिल गर्ने गरी अध्यापन गराइने बताए।
विसं २००४ मा स्थापना भएको शान्ति विद्या गृह माविमा हाल १ हजार २०० विद्यार्थी अध्ययनरत छन् भने लोकहित आधारभूत विद्यालयमा १०६ विद्यार्थी अध्ययनरत छन्। कामपा–२६ ले गत भदौ ११ गते स्टार अफिस इन्टरनेशनलसँग सम्झौता गरी २७ लाख ७६ हजार २०० रुपैयाँको लागतमा दुवै विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरेको वडा सचिव केदार रिमालले जानकारी दिए।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरू बाबुकाजी महर्जन, प्रवेश श्रेष्ठ र रूपा विकको समेत सहभागिता रहेको थियो।


