काठमाडौँ । डिल्लीबजार कन्या बहुमुखी क्याम्पस डिल्लीबजार काठमाडौंको साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले २५ सदस्यीय नयाँ सञ्चालक समिति गठनसमेत गरेको छ। सञ्चालक समितिको बैठकले डा. रुद्र शर्मालाई पुनः अध्यक्ष चयन गरेको छ।
२५ सदस्यीय नयाँ सञ्चालक समितिमा कतिपय सदस्य पदेन सदस्यका रुपमा रहेका छन् भने नयाँ सदस्यमा पूर्वसांसद विशाल भट्टराई, पूर्वमन्त्री विक्रमबहादुर थापा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, प्राध्यापक डा.आनन्द पन्थ, समाजसेवी शोभित उप्रेती, देवी लामा, भरत ढकाल, लोकेन्द्र शाहीलगायत छन्।
०३७ सालदेखि सामुदायिक कन्या क्याम्पसका रूपमा सञ्चालित यस क्याम्पसले ४५ वर्ष पूरा गरिसकेको छ। यस क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता, ग्रामीण विकास, समाजशास्त्र,अंग्रेजी, नेपाली, अर्थशास्त्रलगायत विषय र स्नातकोत्तर तहमा अंग्रेजी, समाजशास्त्र विषयमा सेमेष्टर प्रणालीमा अध्ययन/अध्यापन भइरहेको छ।
त्यस्तै, शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक तहमा ४ वर्षे बिएडमा नेपाली, अंग्रेजी र स्वास्थ्य तथा शारीरिक विषयमा र स्नातकोत्तर तहमा एमएड नेपाली तथा व्यवस्थापन संकायअन्तर्गत ४ बर्षे बिबिएस र बिबिएम स्नातकोत्तर तहअन्तर्गत एमबिएस तहका कार्यक्रम सञ्चालित छन्।
यसअघि साधारण सभा उद्घाटन सत्रमा बाग्मती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले नारी शिक्षाको उन्नयनमा क्याम्पसको ठूलो योगदान रहेको चर्चा गर्दै क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
पूर्वमन्त्री विक्रमबहादुर थापाले क्याम्पसमा विद्यार्थी संख्या बढाउन क्यापम्पसलाई थप सुदृढ र सक्षम बनाउन आवश्यक सुधार गर्दै अगाडि जानुपर्नेमा जाेड दिए।
क्याम्पस प्रमुख अपराजिता अर्यालले क्याम्पसले करिब ६५ जिल्लाका ७ सय छात्रालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जानकारी दिइन्। उनले क्याम्पसलाई क्यूएए स्तरोन्नतिका लागि विश्वविद्यालय अनुदान आयोगमा आवश्यक प्रक्रिया अघि बढाएर काम भइरहेको बताइन्। उनले भनिन्, ‘शैक्षिक गुणस्तर कायम गर्न क्याम्पस प्रशासन निरन्तर प्रतिबद्ध छ।’
साधारण सभामा सञ्चालक समितिका अध्यक्ष डा. रुद्र शर्माले समयानुकूलका विषय थप्दै क्याम्पसलाई गुणस्तरीय शैक्षिक केन्द्र बनाउनुपर्ने र यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए।
क्याम्पसका शैक्षिक निर्देशक प्राडा जयन्तनाथ खनालले क्याम्पसले आगामी शैक्षिक कार्यक्रम विस्तारअन्तर्गत व्यवस्थापन संकायमा नयाँ कार्यक्रम सञ्चालनका लागि आवेदन दिइसकिएको र कानुन संकाय ल्याउने तयारीसमेत भइरहेको जानकारी दिए।
क्याम्पसका कार्यक्रममा आर्थिक तथा प्रशासनिक निर्देशक प्राध्यापक बाबुराम पौडेल, डिल्लीबजार कन्या बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति नीलकण्ठ भुसाल, प्राध्यापक संघका सहसचिव टिपी भुसाललगायतले सामुदायिक क्याम्पसको रुपमा रहेको कन्या क्याम्पसलाई नारी शिक्षाका लागि उत्कृष्ट गन्तव्य बनाउनुपर्ने बताए।


