पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पसले ‘समकालीन भाषा–साहित्य’ विषयमा विमर्श कार्यक्रम सम्पन्न गरेको छ। त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रमुख प्रा. डा. लक्ष्मण गौतमकाे प्रमुख अतिथ्यता तथा विभागीय प्रमुख टंकप्रसाद भट्टराईकाे अध्यक्ष्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथी प्रा. डा. गौतमले नेपाली भाषा, लिपि र ज्ञानपरम्पराबारे आफ्नो धारणा राखेका थिए। उनले कणाद महर्षिदेखि वेदसम्मका वैज्ञानिक सिद्धान्त पहिचान गर्न नसक्नु ठूलो कमजोरी भएको बताउँदै पश्चिमाहरूले हाम्रो ज्ञानलाई आफ्नो नाममा बेचिरहेको र हामी आफ्नै धरोहरप्रति उदासीन रहेको टिप्पणी गरे।
उनका अनुसार नेपाली भाषामाथि सुनियोजित प्रहार भइरहेको छ। अदृश्य संस्थाले ठूलो लगानी गरेर भाषा कमजोर पार्ने प्रयास गरिरहेको उनले दाबी गरे। भाषालाई ‘सरल’ बनाउने नाममा ‘विकृति’ ल्याउने काम बढेको उदाहरण पनि उनले प्रस्तुत गरे। आफूलाई पनि यसै प्रयोजनका लागि प्रलोभनपूर्ण प्रस्ताव आएको तर नस्वीकारेको बताए।
गौतमले देवनागरी लिपिको वैज्ञानिकता स्पष्ट गरे। उनले पदयोग–वियोग, दित्त्व र नामयोगी शब्दका उदाहरण दिए। वेदका छन्द–उपविधा उल्लेख गर्दै साहित्य टिक्न सिद्धान्त, दृष्टि र प्रयोग अपरिहार्य हुने बताए। एआई भाषिक रूपमा शुद्ध भए पनि तथ्यगत विश्वसनीयतामा कमजोरी रहेको उनले जनाए।
कार्यक्रममा प्रा. पुष्कर आचार्यले नेपाली भाषा–साहित्यमाथि भइरहेको आक्रमणको कारणबारे प्रश्न उठाए। अन्य सहभागीहरूले भाषिक शुद्धता, वर्णविन्यास, नवीन विधा, जर्नलका ढाँचा, एआई, एमफिल अनलाइन कक्षा र विद्यार्थीको भाषिक कमजोरीबारे जिज्ञासा राखे।
कार्यक्रमका अध्यक्ष भट्टराईले सबैप्रति धन्यवाद दिँदै अाफ्नाे धारणाा राखेका थिए भने प्रा. महेन्द्र पन्थीले कार्यक्रमकाे सञ्चालन गरेका थिए। डा. शंकरप्रसाद गैरेले स्वागत मन्तव्य राखे र प्रमुख अतिथिको व्यक्तित्वबारे छोटो चर्चा गरे। निमित्त क्याम्पसप्रमुख सन्तोष खनालले पठनसंस्कृति ओरालो लागेको टिप्पणी गर्दै शुभकामना दिए।


