EduPress
'

रोशीमा एसइई उत्कृष्ट विद्यार्थी र शिक्षक नगदसहित सम्मानित

Author Image
सोमवार, पौष ६, २०८२
Text Size:

काभ्रे । रोशी गाउँपालिकाले शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित एसइई परीक्षा ०८० र ०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विषयगत रूपमा उच्च औसत ग्रेड दिलाउने शिक्षकलाई नगदसहित सम्मान गरेको छ।

शुक्रबार सम्पन्न रोशी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापन समारोहमा आयोजित कार्यक्रममा सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकलाई औपचारिक रूपमा सम्मान गरिएको हो। सम्मान कार्यक्रम गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइबा, प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी तथा शिक्षा शाखा प्रमुख ठाकुरप्रसाद दाहालले संयुक्त रूपमा गरेका थिए।

एसइई परीक्षा ०८० अन्तर्गत साधारण धारातर्फ ३.७२ जिपिए प्राप्त गर्दै मंगलजन विजय माध्यमिक विद्यालयकी छात्रा प्रतिमा यादव प्रथम भइन्। उनले ४० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरिन्।

त्यसैगरी ३.३४ जिपिएसहित पोखरा माध्यमिक विद्यालयका छात्र भानुभक्त विक द्वितीय र ३.३१ जिपिए ल्याई रोशी माध्यमिक विद्यालयकी छात्रा भुवनेश्वरी गौतम तृतीय भए। उनीहरूलाई क्रमशः ३० हजार र २० हजार नगदसहित सम्मान गरिएको थियो।

प्राविधिक धारातर्फ ३.६३ जिपिए ल्याउँदै लक्ष्मीनारायण माध्यमिक विद्यालयकी छात्रा प्रतिमा थापा प्रथम भइन्। उनले ४० हजार नगद र प्रमाणपत्र प्राप्त गरिन्।

एसइई परीक्षा ०८१ मा साधारण धारातर्फ ३.६१ जिपिएसहित मंगलजन विजय माध्यमिक विद्यालयका छात्र निशान खरेल प्रथम भए। उनले ४० हजार नगदसहित प्रमाणपत्र पाए।
त्यस्तै ३.६ जिपिए ल्याई भुमेस्थान माध्यमिक विद्यालयकी छात्रा अञ्जली लामा द्वितीय र ३.५४ जिपिएसहित हरिसिद्धि माध्यमिक विद्यालयकी छात्रा निमा तामाङ तृतीय भइन्। उनीहरूलाई क्रमशः ३० हजार र २० हजार नगद प्रदान गरिएको थियो।

प्राविधिक धारातर्फ ३.६७ जिपिए प्राप्त गर्दै लक्ष्मीनारायण माध्यमिक विद्यालयकी छात्रा वन्दना खत्री प्रथम भइन्। उनले ४० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरिन्।

कार्यक्रममा एसइई परीक्षा ०८१ मा विषयगत रूपमा औसतमा उच्च ग्रेड ल्याउन योगदान पुर्‍याउने सम्बन्धित विषय शिक्षकलाई समेत नगदसहित सम्मान गरिएको थियो।

गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यार्थी र शिक्षक दुवैलाई प्रोत्साहन गर्ने नीति अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर