EduPress
'

शारदा माविको ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्ती सम्पन्न

Author Image
सोमवार, कार्तिक २४, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । पशुपतिनाथ मन्दिरको काख र बागमती नदीको किनारमा अवस्थित काठमाडौंको शारदा माध्यमिक विद्यालयले आफ्नो ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्ती भव्यरूपमा सम्पन्न गरेको छ।

सामुदायिक विद्यालयहरूबीच उत्कृष्ट शैक्षिक प्रतिष्ठानका रूपमा ख्याति कमाएको यस विद्यालयको समारोह वरिष्ठ हास्यव्यङ्ग्य कलाकार तथा सामाजिक अभियन्ता हरिवंश आचार्यको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनन्त भेटवालको अध्यक्षतामा सम्पन्न भएको हो ।

हिरक जयन्तीका अवसरमा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापक, शैक्षिक विज्ञ, साहित्यकार तथा विद्यालयप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले सम्पूर्ण वातावरणलाई उत्साहपूर्ण बनायो।

वार्षिकोत्सवको विशेष आकर्षणका रूपमा विद्यालयले प्रकाशन गरेको आफ्नो गौरवमय यात्रालाई समेट्ने ‘शारदा बाणी– हीरक स्मारिका’ विमोचन, साथै हीरक स्तम्भ र हीरक वाटिकाको अनावरण गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति आचार्यले स्मारिकाको विमोचन, हीरक स्तम्भ र हीरक बाटिकाको अनावरण गरेका थिए । स्मारिकामा विद्यालयको स्थापना, विकास, उपलब्धि, पूर्वविद्यार्थीहरूको योगदान र भावी योजना समेटिएको छ। त्यस्तै, विद्यालयको गौरव र पहिचानलाई भावी पुस्ताका लागि स्थायी रूपमा स्मरणीय बनाउन हीरक स्तम्भ निर्माण गरिएको छ।

हीरक वाटिका विद्यालय परिसरको हरियाली, सौन्दर्य र ऐतिहासिकता संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको स्मृति–उद्यान हो । यसले विद्यार्थी र आगन्तुकका लागि आकर्षक स्मारक स्थलको रूपमा योगदान पुर्‍याउने अपेक्षा विद्यालयले गरेको छ ।

कार्यक्रममा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीतसहितका सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । राष्ट्रिय पहिचान झल्काउने लोकनृत्य, समूह नृत्य, गीत–संगीत र सन्देशमूलक नृत्य प्रस्तुति निकै आकर्षक रहेको थियो । हीरक जयन्तीका अवसरमा विद्यालय परिसर आकर्षक ढंगले सजाइएको थियो । यस सजावटले विद्यालय परिसर निकै भव्य र रमाइलो बनेको थियो।

हीरक जयन्ती कार्यक्रममा प्रमुख अतिथि हरिवंश आचार्यले जबसम्म शिक्षक सुखी र सन्तुष्ट हुन सक्दैनन् तबसम्म शिक्षाको गुणस्तर सुधारिन नसक्ने बताए । उनले भने, आज नेताका घरमा धनको भट्टी बलिरहेको छ तर शिक्षकको घरमा चुलो बल्न पनि कठिन छ । यो अवस्थाले मलाई गहिरो पीडा दिएको छ। जबसम्म शिक्षक सुखी र सन्तुष्ट हुन सक्दैनन्, तबसम्म शिक्षाको गुणस्तर सुधारिन सक्दैन।”

आचार्यले शिक्षा, अनुशासन र सिर्जनात्मकताको महत्वप्रति जोड दिँदै सामुदायिक विद्यालयहरूले देशको चरित्र निर्माणमा पुर्यायकाे योगदानलाई प्रशंसनीय बताए।

समापन मन्तव्यका क्रममा अध्यक्ष भेटवालले सम्पूर्ण सहयोगी, शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक र अतिथिहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रमको सफलता विद्यालय समुदायको साझा प्रयासको परिणाम रहेको बताए।

विद्यालयका प्रधानाध्यापक श्री ठाकुरप्रसाद सिग्देल शिक्षक, विद्यार्थी तथा समुदायको एकता र सहयोगबाट विद्यालयले यो सफलता हात पारेको बताउँछन् । उनी भन्छन्, “एक विद्यालयको वास्तविक सफलता केवल भवन वा साधनस्रोतमा होइन, यहाँका प्राध्यापक, शिक्षक तथा विद्यार्थी र अभिभावकको एकता, मेहनत, सहयोग र समर्पणमा निहित हुन्छ। हामी सबैजना मिलेर मात्र विद्यालयको सम्पूर्ण रूप निर्माण गर्न सक्छौँ—शिक्षकहरूले ज्ञान र प्रेरणा दिन्छन्, विद्यार्थीहरूले सीप र उपलब्धिहरूले विद्यालयको पहिचान चम्काउँछन्, र प्राध्यापक तथा व्यवस्थापनले मार्गदर्शन र आवश्यक आधार निर्माण गर्छन्। यही सहकार्य र समन्वयले विद्यालयलाई उत्कृष्ट बनाउँछ। हाम्रो समर्पण, एकता र प्रयासले शारदा माध्यमिक विद्यालयलाई अझ उचाइमा पुर्याउनेछ ।”

त्यसैगरी विद्यालयकी शिक्षक माया ढुंगेल विद्यालयले आफूलाई धेरै सिकाएको बताउँछिन । उनी भन्छिन्, “शारदा माध्यमिक विद्यालयले मलाई केवल अध्यापन गर्ने अवसर मात्र दिएन, यसले मेरो क्षमता, सोच र व्यक्तित्वलाई उजागर गर्ने निरन्तर प्रेरणा पनि दियो। यहाँको शैक्षिक वातावरण, सहयोगी व्यवस्थापन, अग्रगामी सोच र विद्यार्थीप्रतिको माया–सम्मानले मलाई हरेक दिन नयाँ उत्साहका साथ काम गर्न प्रेरित गर्छ। आज म गर्वका साथ भन्छु— म शारदा माध्यमिक विद्यालयको शिक्षक हुँ, र यहाँकै परिवारले दिएको विश्वास, साथ र प्रेरणाले नै मलाई विद्यार्थीहरूको प्रिय र मायालु शिक्षक बन्न सहयोग गरेको छ।”

वार्षिक उत्सवमा आफ्ना छोराछोरीको प्रस्तुति देखेपछि खुसी भएका एक एक अभिभावक भन्छन्, “बालबालिकाहरूले गरेको कलात्मक प्रस्तुति हेर्दा मेरो मन हर्षले भरियो। दैनिक जीवनमा लजालु देखिने बच्चाहरू मञ्चमा यति आत्मविश्वासका साथ नाचे र प्रस्तुत भए । यो दृश्यले विद्यालयले उनीहरूको प्रतिभा उजागर गर्न कति ठूलो भूमिका खेलेको रहेछ भन्ने प्रमाणित गरिदियो । यो हामी अभिभावकका लागि अत्यन्तै गर्वको कुरा हो । विद्यालयले पढाइसँगै संस्कृतिको सम्मान, कला र आत्मविश्वास पनि सिकाइरहेको छ। आजका यी मुस्कान र प्रस्तुति भविष्यको उज्यालो संकेत हुन्, त्यसैले म विद्यालयप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया