EduPress
'

ग्रीन तारा स्कूलले पायाे तीन लाख राशीको शिक्षा सम्मान

Author Image
मङ्गलवार, फागुन ११, २०८२
Text Size:

काठमाडौँ । अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन उल्लेखनीय भूमिका खेलेको भन्दै गोकर्णेश्वर नगरपालिका–९ मा रहेको ग्रीन तारा चाइल्ड हेभेन स्कुललाई यस वर्षको ‘यशोधरा पन्त शिक्षा सम्मान’ प्रदान गरिएको छ। सम्मानस्वरूप विद्यालयलाई नगद ३ लाख रुपैयाँ प्रदान गरिएको हो।

कलंकीस्थित एलआरआई स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सम्मान प्रदान गरेको जनाएको छ। विद्यालयले विशेष आवश्यकता भएका विद्यार्थीलाई नियमित शिक्षामा समेट्ने प्रयासलाई प्रेरणादायी कार्यका रूपमा लिँदै सहयोगस्वरूप पुरस्कार प्रदान गरिएको स्पष्ट पारेको छ।

वार्षिकोत्सव समारोहमा शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो। यस वर्ष काभ्रेका उदिम पन्त, कैलालीका पदमसिंह कुँवर, प्रेमनिधि ओझा, ललितपुरका भोलनाथ ओझा, काठमाडौंका अनुमोदन केसी तथा कास्कीका किरण सापकोटालाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको विद्यालयले जनाएको छ। शिक्षा सुधार, शिक्षक तालिम, विद्यालय व्यवस्थापन र विद्यार्थी विकासमा उनीहरूको योगदानलाई कदर गर्दै सम्मान गरिएको हो।

त्यसैगरी, खेलकुद र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने डाइमन्ड स्पोर्ट्स, कलेज रिडर्सका संस्थापक जितेन्द्र घिमिरे तथा सञ्चारकर्मी ईश्वर ढकाललाई पनि कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो।

विद्यालयले आफ्नै संस्थाभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरेको छ भने शैक्षिक सत्रभर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ।

समारोहमा काठमाडौं विश्वविद्यालय का उपकुलपति अच्युतप्रसाद वाग्ले र एलआरआईका संस्थापक शिवराज पन्तलगायतले पुरस्कार तथा सम्मान हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खबर