जगत वाशिष्ठ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का शीर्ष पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले आफ्नो निर्णय प्रधानमन्त्री कार्यालयमा औपचारिक रूपमा पठाउनुका साथै कुलपति एवं प्रधानमन्त्रीका निजी सचिव प्रदिप परियारमार्फत ह्वाट्सएपबाट पनि जानकारी गराएका छन्।
“हामीले राजीनामा बुझाइसकेका छौं, पत्र प्रधानमन्त्री कार्यालयमा पुगेको छ,” शिक्षाध्यक्ष प्राडा खड्ग केसीले बताएका छन्।
राजीनामा दिनेमा उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजाल रहेका छन्। उनीहरूले नयाँ सरकारलाई सहज रूपमा काम गर्न मार्गप्रशस्त गर्ने उद्देश्यले पद त्यागेको बताएका छन्।
उपकुलपति अर्याल केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला नियुक्त भएका थिए। यसअघि उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएपछि अर्याल २०८२ असार २५ मा उक्त पदमा नियुक्त भएका थिए।
यस्तै, शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल भने पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा नियुक्त भएका थिए। २०८० चैत ३० मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले बरालको सिफारिसमा उनीहरूलाई जिम्मेवारी दिएका थिए। पदाधिकारीहरूको कार्यकाल चार वर्षको हुने व्यवस्था छ।
यसबीच, पछिल्लो राजनीतिक परिवेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएको थियो। सरकार अध्यादेशमार्फत हस्तक्षेप गर्ने तयारीमा पुगेपछि पदाधिकारीहरूले राजीनामा दिने निर्णय गरेका हुन्।
वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको छ। हाल उक्त अध्यादेश राष्ट्रपतिबाट अध्ययनको क्रममा रहेको जनाइएको छ।


