काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले विश्वविद्यालय र स्थानीय निकायहरुमा ललितकला विभाग स्थापनाका लागि पत्राचार सुरु गरेको छ । यसैक्रममा प्रतिष्ठानले मध्यपश्चिम विश्वविद्यालय र सुदुरपश्चिम विश्वविद्यालयलाई पत्र पठाउँदै विश्वविद्यालयमा ललितकला विभाग स्थापना गर्न माग गरेको छ ।
प्रतिष्ठानका कूलपति नारदमणि हार्तम्छालीद्वारा हस्ताक्षरित पत्रमा ललितकला विभागको महत्वबारे व्याख्या गरिएको छ । पत्रमा भनिएको छ, “विश्व विद्यालय सिकाइको केन्द्र, अध्ययन–अनुसन्धान स्थल रहेकाले औपचारिक रूपमै ललितकला, संस्कृतिको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनका लागि त्यस विश्वविद्यालयमा पनि ललितकला विभागको स्थापना अपरिहार्य रहेको छ ।”
पत्रमा ललितकलाबाट दीक्षित विद्यार्थीहरूले देशका रैथाने लोक कला, शिल्प–हस्तकला, परम्परागत लगायतका कलाको संरक्षण, संवर्धन र प्रवर्धन गर्नुका साथै ललितकला मार्फत देशको अर्थतन्त्र, पर्यटन तथा सामाजिक विकासमा समेत महत्त्वपूर्ण योगदान पु¥याउने हुनाले विश्वविद्यालयमा यस्तो विभाग आवश्यक पर्ने पनि बताइएको छ । त्यस्तै पत्रमा शिक्षालाई सिप, सिर्जना र रोजगारसँग जोड्न सशक्त भूमिका खेल्ने भएकाले विश्वविद्यालयमा ललितकला विभागको स्थापनाका लागि अनुरोध गरिएको छ ।
कूलपति नारदमणि हार्तम्छाली भन्छन्, ” नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नेपाली कलाकार, कला अध्येता तथा कला समीक्षकहरूको साझा संस्था हो । यसको मूल अभिप्रायः कलाकृतिको सिर्जना तथा प्रदर्शनीका साथै कलाका विविध विधाहरूको अध्ययन, अन्वेषणमूलक वातावरण निर्माण गर्नु रहेको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञपरिषद् र प्राज्ञसभा गरी दुई अङ्गहरू रहेका छन् । प्राज्ञसभाले नेपाली कलाको विकासको लागि नीति तथा कार्यक्रमहरु तर्जुमा गर्ने गर्छ भने प्राज्ञ परिषद्ले नेपाली कलाकार एवं सरोकारवाला निकायहरूसँगको सहकार्यमा ती नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्ने काम गर्छ । यसले देशभर भइरहेका कला सम्बन्धी गतिविधिहरूको निरीक्षण गर्ने, कलाकृतिहरूको मूल्याङ्कन गर्ने र कलाकारहरूलाई पुरस्कृत गर्ने काम पनि गर्दछ । विश्व विद्यालय सिकाइको केन्द्र, अध्ययन–अनुसन्धान स्थल रहेकाले औपचारिक रूपमै ललितकला, संस्कृतिको संरक्षण, संवर्धन तथा प्रवर्धनका लागि त्यस विश्व विद्यालयमा पनि ललितकला विभागको स्थापना अपरिहार्य रहेको छ ।”


