EduPress
'

अध्ययन भिसा लिएर उपद्रो गर्ने विदेशी नागरिक बढेपछि अध्यागमनले बढायो निगरानी

Author Image
बिहिवार, मंसिर ११, २०८२
Text Size:
  • लक्षिराम विश्वकर्मा

काठमाडौं । अध्ययन भिसामा नेपालमा प्रवेश गरेर उद्देश्य विपरीत गतिविधि गर्ने विदेशी नागरिकहरूमाथि नेपाल सरकारले निगरानी गर्न थालेको छ । अध्यागमन विभागले यस्ता धेरै गुनासो आएको पनि जनाएको छ ।

अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकले कानुन विपरितका गतिविधिमा संलग्न रहेको र अध्ययन भिसाका लागि सिफारिस समेत पाएको खुलेपछि निगरानी बढाएको अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिएका छन् ।

अध्ययन भिसा लिएर नेपाल प्रवेश गर्ने तर उनीहरू नियमित कक्षामा सहभागी नहुने भेटिएको ढकालले बताए । नियमित कक्षामा सहभागी नहुने तर भिसा अवधि सकिएपछि तिनीहरू नै अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेश गर्ने क्रम बढको छ । त्यस्ता विदेशी नागरिकले कोर्स पूरा भए पनि शैक्षिक प्रमाणपत्र पेश नगरेको तथ्यसमेत पाइएको ढकाल बताउँछन् ।

यसैबीच अध्यागमन विभागले शैक्षिक संस्थाहरुलाई त्यस्ता व्यक्तिहरूलाई अध्ययन भिसाका लागि सिफारिस नगर्न निर्देशन पनि जारी गरेको छ । उक्त निर्देशनमा केही विदेशी नागरिक गैरकानूनी गतिविधिमा समेत संलग्न पाइएपछि त्यसको सूचना प्रहरी तथा स्थानीय निकायहरूमा दिन समेत उल्लेख गरिएको छ ।

अध्यागमनले विदेशी नागरिकलाई अध्ययन गराउने शैक्षिक संस्था र उनीहरूको गतिविधि अनुगमन गर्न शिक्षा मन्त्रालय तथा ७७ वटै जिल्ला अनुगमन समितिलाई जिम्मेवारी दिएको छ ।

अध्यागमन विभागले जारी गरेको सूचनामा भनिएको छ, “भिसा तथा आम्दानी प्रयोजनका लागि मात्र आफ्नो शैक्षिक संस्थामा विदेशी विद्यार्थी भर्ना नगर्न, आफ्नो संस्थामा अध्ययनरत विद्यार्थीहरु नियमित रुपमा पठनपाठनमा सम्लग्न भए नभएको यकिन गरी मात्र भिसा सिफारिस गर्न र पठन पाठन भन्दा वाहेक अन्य शंकास्पद गतिविधिमा सम्लग्न भएको जानकारीमा आएमा तत्काल अध्ययागमन विभाग वा स्थानीय प्रशासनलाई सूचना दिन अध्यागमन विभाग सबै शैक्षिक संस्थाहरुलाई अनुरोध गर्दछ ।”

प्रतिक्रिया