सुर्खेत । आफ्नै विद्यालयमा पढ्ने बालिका बलात्कार गरेर फरार भएका शिक्षक पक्राउ परेका छन् । सुर्खेतको पन्चपुरी गाउँपालिका वडा नं. ५ बाबियाचौरमा रहेको सरस्वति बिद्या निकेतन इंग्लिश बोर्डिङ स्कूका शिक्षक महेन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।
अर्यालले सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत बालिकालाई बलात्कार गरेको आरोप बालिकाका परिवारले लगाएका छन् । १२ वर्षकी बालिका सोही विद्यालयको होस्टेलमा बसेर पढ्दै आएकी थिइन । शिक्षक अर्याल सोही होस्टेलका सञ्चालक रहेको पनि खुलेको छ । उनले बालिकालाई ललाइ फकाई गरेर लामो समयदेखि बलात्कार गर्दै आएको बताइएको छ । बालिकाले आफ्नी आमासँग शिक्षक अर्यालले विभिन्न आश्वासन दिएर तीन वर्षदेखि बलात्कार गर्दै आएको बताएकी छन् ।
पछिल्लो पटक अर्यालले बलात्कार गरेको अन्य विद्यार्थीले समेत थाहा पाएपछि घटना बाहिर आएको र विद्यालयमा विरोध सुरु भएको थियो । त्यसपछि उनी फरार भएका थिए ।
फरार भएका ४० वर्षका शिक्षक अर्याललाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरिक्षक भुपेन्द्र शाहीको टोलीले पक्राउ गरेको हो । प्रहरीले अर्याल बाबियाचौरबाट भागेर बाचकाँडा भन्ने स्थानमा लुकिछिपी बसेको र प्रहरीले खानतलासी गरी नियन्त्रणमा लिएको जनाएको छ । साथै उनीमाथि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार उक्त स्कूलमा यस किसिमका समस्या धेरै पटक उठ्ने गरेका छन् । विद्यालयकी शिक्षिकाहरु र छात्राहरुमाथि दुव्र्यवहार भएको भन्दै धेरैपटक गुनासो आउने गरेको तर भित्रभित्रै सामसुम पार्ने गरिएको बुझिएको छ । यसपटक भने घटना धेरै लामो भएकोले बाहिर आएको एक अभिभावक बताउँछन् । उनले विद्यालयमाथि गम्भीर छानविन गर्न पनि माग गरेका छन् ।


