काठमाडौँ । सार्वजनिक नीति निर्माणमा दक्ष र व्यावहारिक जनशक्तिको अभाव महसुस भइरहेका बेला नेपाल विश्वविद्यालयले आफ्नो पहिलो शैक्षिक कार्यक्रम सुरु गरेको छ। विश्वविद्यालयले ‘मास्टर अफ पब्लिक पोलिसी’ कार्यक्रमअन्तर्गत भर्ना खुला गर्दै औपचारिक रूपमा शैक्षिक यात्रा आरम्भ गरेको हो।
राज्यका निकाय, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संस्था तथा गैरसरकारी क्षेत्रमा आवश्यक नीति विश्लेषक र नेतृत्व उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम तयार गरिएको विश्वविद्यालयले जनाएको छ। दुई वर्षे पूर्णकालीन यो स्नातकोत्तर कार्यक्रमले विषयगत गहिरो ज्ञान, विश्लेषणात्मक क्षमता र नीति निर्माणसँग सम्बन्धित व्यावहारिक सीप विकासमा जोड दिनेछ।
विश्वविद्यालयका रजिस्ट्रार सूर्यराज आचार्यका अनुसार पाठ्यक्रम विकासका क्रममा विदेशी विश्वविद्यालयका प्राज्ञ, सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ। विद्यार्थीकेन्द्रित पठनपाठन पद्धति, अनुसन्धानमुखी अभ्यास तथा विविध बौद्धिक गतिविधिमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको नीतिगत नेतृत्व उत्पादन गर्ने अपेक्षा गरिएको छ ।
नेपाल विश्वविद्यालयको पहिलो शैक्षिक कार्यक्रम भएकाले पहिलो ब्याचका लागि उल्लेख्य सङ्ख्यामा छात्रवृत्तिको व्यवस्था गरिएको पनि विश्वविद्यालयले जनाएको छ । गुणस्तरीय शिक्षामार्फत पेसागत उन्नति चाहने विद्यार्थी तथा नीति क्षेत्रमा आफ्नो दक्षता अभिवृद्धि गर्न चाहने पेसाकर्मीहरूले आगामी माघ ८ (२२ जनवरी २०२६) सम्म आवेदन दिन सक्नेछन् ।


