काठमाडौँ । नेपाललाई विश्वकै ध्यान र आध्यात्मिक चेतनाको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित आइतबार काठमाडौँको टुँडिखेलमा ‘विश्व ध्यान दिवस’ विशेष कार्यक्रम आयोजना गरिँदै छ।
संयुक्त राष्ट्र संघद्वारा डिसेम्बर २१ लाई औपचारिक रूपमा विश्व ध्यान दिवस घोषणा गरिएपछि दोस्रो पटक सरकारीस्तरमै यो दिवस मनाउन लागिएको हो। कार्यक्रमको पूर्वसन्ध्यामा शनिबार ओशो तपोवनमा आयोजित पत्रकार सम्मेलनमा बोधिसत्त्व स्वामी आनन्द अरुणले नेपाललाई ‘विश्व ध्यानको राजधानी’का रूपमा विकास गर्न राज्यले अग्रसरता लिनुपर्नेमा जोड दिए।
उनका अनुसार ध्यानको उद्गमस्थल मानिने हिमालय क्षेत्र र भारतीय उपमहाद्वीपसँग जोडिएको नेपाल प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले ध्यान पर्यटनका लागि अत्यन्तै उपयुक्त छ। ‘ध्यान कुनै धर्म होइन, विज्ञान हो भन्ने बुझाइ अहिले विश्वव्यापी बन्दै गएको छ,’ उनले भने, ‘मुस्लिम राष्ट्रहरूले समेत यसलाई आत्मसात गरिसकेका छन्।’
स्वामी आनन्द अरुणले ११ वर्ष लामो निरन्तर पहलपछि संयुक्त राष्ट्र संघबाट विश्व ध्यान दिवसको मान्यता प्राप्त भएको स्मरण गर्दै यसलाई नेपाल र नेपालीका लागि ऐतिहासिक उपलब्धि भएको बताए। ‘सन् २०१४ देखि अघि बढाइएको प्रस्ताव गत वर्ष डिसेम्बर ७ मा नेपालसहित १८ देशको समर्थनमा महासभाबाट पारित भयो,’ उनले भने, ‘यो हाम्रो साझा सपना साकार भएको क्षण हो।’
ओशो तपोवनमार्फत नेपालमा हाल ९० वटा ध्यान केन्द्र सञ्चालनमा छन् भने अमेरिका, अस्ट्रेलिया, रुसलगायत विभिन्न मुलुकमा समेत यसको विस्तार भइसकेको छ। तपोवनमा मात्र ११० भन्दा बढी देशका साधकहरू आइसकेको जानकारी दिँदै उनले राज्यको अपनत्व र दीर्घकालीन योजनामार्फत नेपाललाई आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने धारणा राखे।
पत्रकार सम्मेलनमा स्वामी आनन्द अरुणले देशको समसामयिक राजनीतिक अवस्था र पछिल्लो समय देखिएको ‘जेन–जी’ आन्दोलनप्रति पनि टिप्पणी गरे। राजनीतिक अस्थिरता, नेतृत्वको अदूरदर्शिता र अवसरको अभावका कारण युवा पुस्तामा असन्तुष्टि बढ्दै गएको उनले बताए।
‘हामी प्राकृतिक स्रोतसाधनले सम्पन्न छौँ, तर त्यसको सदुपयोग गर्न नसक्दा सुनखानीमा बसेर भिख मागिरहेका छौँ,’ उनले भने, ‘समाजमा फैलिएको नकारात्मक ऊर्जा हटाउन ध्यान प्रभावकारी माध्यम बन्न सक्छ।’
आइतबार टुँडिखेलमा आयोजना हुने विश्व ध्यान दिवसको कार्यक्रममा सहभागी भई ध्यानको अनुभूति लिन र शान्तिको सन्देश फैलाउन सबैमा उनले आग्रह गरेका छन्।


