EduPress
'

विद्यालय सुधार्न अभिभावकहरूलाई आन्दोलनमा उत्रन शिक्षामन्त्री पुनकाे आह्वान

Author Image
आइतवार, पौष ५, २०८२
Text Size:

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय शिक्षामा देखिएको मनपरी र बेथिति अन्त्य गर्न अभिभावकहरूलाई स्वयं मैदानमा उत्रन आह्वान गरेका छन् । केन्द्रबाट आउने निर्देशन मात्रले स्थानीय विद्यालयमा गुणात्मक सुधार सम्भव नहुने उनको ठहर गर्दै मन्त्री पुनले यस्ताे आह्वान गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै मन्त्री पुनले स्थानीय अभिभावकहरू एकजुट नभएसम्म विद्यालय सुधारको प्रक्रिया अघि नबढ्ने उल्लेख गरेका छन्। उनले लेखेका छन्, “लौ त स्थानीय अविभावकहरु आफ्नो छोराछोरीहरुको भविष्यको लागि जाग्नुहोस ।”

मन्त्री पुनका अनुसार नेपालको संविधानले विद्यालय सुधारका लागि आवाज उठाउने पूर्ण अधिकार अभिभावकहरूलाई दिएको छ। त्यस अधिकारको प्रयोग गर्दै आफ्ना बालबालिकाको भविष्यका लागि अभिभावकहरू आफैं सक्रिय हुनुपर्ने उनले आग्रह गरेका छन्।

काठमाडौंस्थित मन्त्रालयबाट निर्देशन जारी गर्नु मात्र पर्याप्त नहुने भन्दै उनले स्थानीय तहकै निगरानी, दबाब र सहभागिताबाट मात्रै विद्यालय शिक्षामा वास्तविक परिवर्तन सम्भव हुने बताए। बालबालिकाको शैक्षिक भविष्य सुरक्षित गर्न अभिभावकको भूमिकालाई निर्णायक मान्नुपर्नेमा उनले जोड दिएका छन्।

शिक्षामन्त्री पुनले लेखेका छन्, “नेपालभरिका धेरै विद्यालयहरुमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतिकरण हटाउन अविभावकहरु एकजुट भएर जोडदार आन्दोलन नगरेसम्म र कडा चेतावनीहरु नदिएसम्म सुधार हुन गाह्रो छ । त्यसो गर्ने पूर्ण अधिकार संविधान अविभावकहरुलाई दिएको छ । शिक्षा मन्त्रालयले मात्र काठमाडौंबाट निर्देशन दिएर नपुग्ने भयो । लौ त स्थानीय अविभावकहरु, आफ्नो छोराछोरीहरुको भविष्यको लागि जाग्नुहोस ।”

प्रतिक्रिया