EduPress
'

टुँडिखेलमा सरकारको आयोजनामा मनाइयो ‘विश्व ध्यान दिवस’

Author Image
आइतवार, पौष ५, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौँ, पुस ६ गते । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आइतबार राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा सैनिक मञ्च टुँडिखेलमा सम्पन्न कार्यक्रममा मन्त्री, उच्च अधिकारी, आध्यात्मिक गुरु, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल तथा ओशो तपोवनका संरक्षक बोधिसत्त्व स्वामी आनन्द अरुणलगायत व्यक्तित्व सहभागी थिए। विभिन्न विद्यालय र कलेजका विद्यार्थीको पनि कार्यक्रममा सक्रिय उपस्थिति थियो।

संयुक्त राष्ट्रसङ्घले गत वर्ष डिसेम्बर ७ तारिखमा डिसेम्बर २१ लाई आधिकारिक रूपमा ‘विश्व ध्यान दिवस’ का रूपमा मान्यता दिएको हो। नेपालसहित १८ देशको प्रस्ताव पारित भएपछि पहिलोपटक गत वर्ष सरकारकै आयोजनामा टुँडिखेलमा ध्यान दिवस मनाइएको थियो। यस वर्ष पनि सरकारले सो कार्यक्रमलाई निरन्तरता दिएको हो।

संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक तथा प्रभावकारी अभ्यासका रूपमा स्वीकार गरेको जनाइएको छ। यही मान्यताका आधारमा विश्वभर ध्यानको महत्वबारे जनचेतना फैलाउने उद्देश्यसहित यो दिवस मनाउन थालिएको हो।

कार्यक्रममा बोल्दै बोधिसत्त्व स्वामी आनन्द अरुणले नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’का रूपमा विकास गर्नुपर्नेमा जोड दिए। ध्यानको उद्गमस्थल भारतीय उपमहाद्वीप र हिमालय क्षेत्र भएकाले नेपालसँग यसका लागि प्रचुर सम्भावना रहेको उनको भनाइ थियो। उनले ११ वर्षको निरन्तर प्रयासपछि संयुक्त राष्ट्रसङ्घबाट ध्यान दिवसको मान्यता प्राप्त भएको उल्लेख गरे।

ध्यान दिवसका कार्यक्रमले मानसिक स्वास्थ्य, आन्तरिक शान्ति र जीवनशैली सुधारमा ध्यान अभ्यासको महत्व उजागर गर्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

प्रतिक्रिया