EduPress
'

एमयू ग्लोबल र्‍याङ्किङ अपरेसन कमिटी गठन

Author Image
मङ्गलवार, पौष ७, २०८२
Text Size:

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक मञ्चमा आफ्नो पहिचान सुदृढ गर्ने उद्देश्यका साथ पहिलोपटक एमयू ग्लोबल र्‍याङ्किङ अपरेसन कमिटी (MU GORC) गठन गरेको छ । विश्वविद्यालयलाई QS World University Ranking मा आवद्ध गराउने दीर्घकालीन लक्ष्यअनुसार आवश्यक कार्य प्रक्रिया अघि बढाउन उक्त समिति गठन गरिएको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीको संयोजकत्वमा गठित आठ सदस्यीय समितिमा सदस्यहरूका रूपमा डा. विष्णुकुमार खड्का, डा. पुष्पराज आचार्य, डा. रेशमबहादुर विष्ट, डा. दिक्पालकुमार शाही, डा. भीमबहादुर खड्का र डा. अनुप बस्नेत क्षेत्री रहेका छन् । समितिको सदस्य–सचिवका रूपमा शेरबहादुर केसी रहेका छन् ।

नवगठित समितिको पहिलो बैठक सोमबार संयोजक ज्ञवालीको अध्यक्षतामा वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ । बैठकले QS वर्ल्ड युनिभर्सिटी र्‍याङ्किङमा सहभागिताका लागि आवश्यक कार्ययोजना तयार गर्ने, जिम्मेवारी बाँडफाँड गर्ने र कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र रजिस्ट्रार प्रा. डा. शोभाखर कँडेलले समितिका सदस्यहरूसँग अन्तरक्रियात्मक छलफल गर्दै र्‍याङ्किङसम्बन्धी तयारीलाई प्रभावकारी बनाउने विषयमा मार्गनिर्देशन गरेका थिए ।

समितिले अध्ययन तथा अनुसन्धान, शैक्षिक प्रकाशन, अन्तर्राष्ट्रिय सहकार्य, सुशासन, प्रविधिको प्रयोग, संस्थागत सुधार तथा समग्र शैक्षिक–प्रशासनिक अवस्थालगायत QS द्वारा निर्धारण गरिएका सूचकहरूमा केन्द्रित भई सन् २०२७ को र्‍याङ्किङका लागि तयारीलाई तीव्र पार्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया