- जगत वाशिष्ठ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोह अाउने सवारीलाई व्यवस्थित र सहज बनाउन पार्किङसम्बन्धी विस्तृत व्यवस्था सार्वजनिक गरेको छ ।
त्रिविको ५१औँ दीक्षान्त समारोह २०८२ पुस १० गते काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । समारोहमा सहभागी हुने दीक्षान्तार्थी, अभिभावक, पाहुना तथा विशिष्ट व्यक्तिहरूको आवागमन व्यवस्थापनलाई ध्यानमा राखी पार्किङका लागि छुट्टाछुट्टै स्थान निर्धारण गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा जारी गरेकाे सूचनाअनुसार दीक्षान्त समारोहमा सहभागी विद्यार्थी तथा अभिभावकहरूका लागि टुँडिखेलको दक्षिणतर्फको खुला क्षेत्र, विश्वनिकेतन उच्च माध्यमिक विद्यालयको प्राङ्गण तथा राहदानी विभागको आँगनलाई पार्किङ स्थलका रूपमा तोकिएको छ । त्यहाँ सहभागीहरूले आफूलाई सहज हुने स्थानमा सवारी साधन पार्क गर्न सक्ने व्यवस्था गरिएको त्रिविले जनाएकाे छ ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूका लागि युनाइटेड ट्रेड सेन्टर (United Trade Center) को भूमिगत पार्किङ स्थल प्रयोग गर्न आग्रह गरिएको छ ।
विशिष्ट (VIP) पाहुनाहरूका लागि भने आर्मी अफिसर्स क्लबलाई पार्किङ स्थलको रूपमा निर्धारण गरिएको सूचनामा उल्लेख छ ।
परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेलद्वारा हस्ताक्षरित सूचनामा दीक्षान्त समारोहमा सहभागी सबैलाई तोकिएका पार्किङ स्थलको पालना गर्न अनुरोध गरिएको छ । यसले समारोह अवधिभर ट्राफिक व्यवस्थापन सहज हुने र कार्यक्रम मर्यादित ढंगले सम्पन्न गर्न सहयोग पुग्ने विश्वविद्यालयको विश्वास छ ।



