EduPress
'

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

Author Image
बिहिवार, पौष ९, २०८२
Text Size:

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठन गरिएको सिफारिस समितिले सूचना प्रकाशित गर्दै योग्य र इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

सूचनाअनुसार शिक्षा ऐन, २०२८ को दफा ८क को उपदफा (१) तथा माध्यमिक शिक्षा परीक्षा सञ्चालन, व्यवस्थापन र समन्वयसम्बन्धी प्रचलित कानुनी व्यवस्थाबमोजिम बोर्डको अध्यक्ष नियुक्त गरिनेछ। अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको तथा शिक्षा र परीक्षा व्यवस्थापनको क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ।

यसैगरी, राष्ट्रिय परीक्षा बोर्ड नियमावली, २०७६ बमोजिम अयोग्य नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको र बोर्डसँग कुनै प्रकारको स्वार्थको द्वन्द्व नभएको हुनुपर्ने सूचनामा उल्लेख छ।

इच्छुक उम्मेदवारले व्यक्तिगत विवरण खुल्ने गरी दरखास्त, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी प्रमाणपत्र, अवधारणापत्र र चार वर्षे कार्ययोजना सहित दरखास्त पेश गर्नुपर्नेछ। अवधारणापत्र र कार्ययोजनाको हार्ड कपी तथा सफ्ट कपी दुवै बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

दरखास्त शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ । उक्त रकम नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नाममा तोकिएको राजस्व खातामा जम्मा गर्नुपर्नेछ।

सूचना पहिलो पटक प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् यही पुस २४ गतेसम्म दरखास्त पेश गर्न सकिनेछ। तोकिएको समयसीमाभित्र नपुगेका, अपूर्ण वा मापदण्ड नपुगेका दरखास्त कुनै पनि चरणमा रद्द हुन सक्ने समितिले स्पष्ट पारेको छ।

दरखास्त फाराम, अवधारणापत्रको ढाँचा तथा विस्तृत कार्यविधि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np बाट डाउनलोड गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया