EduPress
'

जम्बो टिमसहित गरियाे विद्यालयको सुपरिवेक्षण

Author Image
आइतवार, पौष १२, २०८२
Text Size:

काठमाडौँ । तारकेश्वर नगरपालिकाको समन्वयमा शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौँले पृथ्वी माध्यमिक विद्यालय, गोलढुङ्गामा समग्र विद्यालय सुपरिवेक्षण सम्पन्न गरेको छ।

शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौँका शाखा अधिकृत कृष्णकुमार श्रेष्ठको नेतृत्वमा ११ जना विषय विज्ञसहितको टोलीले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, जिन्सी व्यवस्थापन तथा प्रशासनिक पक्षको विस्तृत निरीक्षण तथा मूल्याङ्कन गरेको हो।

सुपरिवेक्षणका क्रममा शिक्षा अधिकृत सुदिन बुढाथोकीको उपस्थितिमा विषय विज्ञहरूले पहिलो घण्टीमा ११ कक्षा र दोस्रो घण्टीमा थप ११ कक्षा अवलोकन गर्दै जम्मा २२ जना शिक्षकको कक्षा शिक्षण पद्धतिमाथि प्रत्यक्ष अनुगमन तथा पृष्ठपोषण प्रदान गरेका थिए।

कक्षा अवलोकनसँगै विद्यालयको प्रशासनिक, आर्थिक तथा भौतिक अवस्थाको अनुगमनपछि शिक्षक र अनुगमनकर्ताहरूबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो। अन्तरक्रियामा कक्षा प्रदर्शन गर्ने शिक्षकका तर्फबाट सुनिता अधिकारी र शिवराम चालिसे तथा विषय विज्ञका तर्फबाट रविना महर्जन र गोविन्द तिमिल्सेनाले अनुभव साझा गरेका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद शर्मा, शिक्षा अधिकृत सुदिन बुढाथोकी र शाखा अधिकृत कृष्णकुमार श्रेष्ठले सामूहिक सुपरिवेक्षणले विद्यालयको शैक्षिक गुणस्तर सुधार र शिक्षण–सिकाइ प्रक्रियामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खबर