EduPress
'

सबै शिक्षकको मर्यादा र सम्मानमा चोट पुर्‍याउने अभिव्यक्तिप्रति शिक्षक महासंघको कडा आपत्ति

Author Image
शुक्रवार, फागुन २८, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं। हालै निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक नेताले शिक्षक तथा शिक्षा पेशाबारे दिएको अभिव्यक्तिप्रति नेपाल शिक्षक महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघले उक्त अभिव्यक्तिले शिक्षक समुदायको मर्यादा र सम्मानमा चोट पुर्‍याएको भन्दै तत्काल सच्याउन आग्रह गरेको छ।

महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा देशमा विद्यालय शिक्षाको विकास तथा नेपाली शिक्षक-कर्मचारीको अधिकार, हित र मर्यादाको संरक्षणका लागि महासंघ सधैं प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा शिक्षक पेशाको गरिमा र स्वाभिमानमाथि आँच आउने खालका अभिव्यक्ति र व्यवहार अस्वीकार्य हुने महासंघले जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीशोर सुवेदी र महासचिव तुलबहादुर थापाको हस्ताक्षरमा जारी विज्ञप्तिमा विसं २०८२ फागुन २९ गते सम्पन्न प्रतिनिधि सभा बैठकको क्रममा नव-निर्वाचित एक माननीय सांसदले शिक्षक तथा शिक्षा पेशाप्रति प्रयोग गरेको शब्द र अभिव्यक्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। महासंघका अनुसार ती अभिव्यक्तिहरूले शिक्षक समुदायलाई अपमानित गर्ने र समाजमा शिक्षकप्रतिको सम्मानमा नकारात्मक प्रभाव पार्ने खालका छन्। यसरी शिक्षकप्रति अापत्तीजनक अभिव्यक्ति दिने नेता राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य खगेन्द्र सुनार हुन । उनी बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका छन् । उनले शिक्षकलाइ कुटपिट गर्न उक्साउदै पाता फर्काएर हिर्काउनु पर्ने अभिव्यक्ति दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

महासंघले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले जिम्मेवार, संयमित र मर्यादित अभिव्यक्ति दिनुपर्ने स्मरण गराउँदै भविष्यमा यस्ता टिप्पणी नगर्न सम्बन्धित पक्षलाई सचेत गराउन आग्रह गरेको छ। साथै शिक्षक समुदायको सम्मानमा आँच पुग्ने अभिव्यक्ति दोहोरिए महासंघ आवश्यक कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खबर