EduPress
'

विद्यार्थीका गुनासो सुन्न सीटीईभीटीमा विशेष शाखा खोल्ने शिक्षामन्त्री पुनको निर्देशन

Author Image
बुधवार, असोज १५, २०८२
Text Size:

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सीटीईभीटी (CTEVT) का अध्यक्ष महावीर पुनले प्राविधिक शिक्षामा देखिएका समस्या र विद्यार्थीका गुनासो समाधानका लागि सीटीईभीटीमा ‘गुनासो सुन्ने शाखा’ स्थापना गर्न निर्देशन दिएका छन्।

बिहीबार सीटीईभीटीसँगको बैठकमा मन्त्री पुनले चार बुँदे निर्देशन जारी गर्दै उक्त शाखा तत्काल गठन गरी सञ्चालनमा ल्याउन आदेश दिएका हुन्। उनले भनेका छन्, “सीटीईभीटी कार्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकका गुनासो सुन्ने, अभिलेखीकरण गर्ने र समाधान गर्ने शाखा तुरुन्त स्थापना गर्न निर्देशन दिएको छु।”

त्यसैगरी, सीटीईभीटीका पाठ्यक्रमलाई सुधार गर्दै नवप्रवर्तनलाई समेट्ने खाका असोज मसान्तभित्र पेस गर्न पुनले निर्देशन दिएका छन्। उनले एकीकृत शैक्षिक क्यालेन्डर तयार गर्न र परीक्षाको नतिजा तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशित गर्ने व्यवस्था गर्न पनि आदेश दिएका छन्।

मन्त्री पुनले २०६९ सालदेखि हालसम्म प्राविधिक शिक्षालय सञ्चालनका लागि प्राप्त सम्बन्धन आवेदनहरूको छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेस गर्न तथा सम्बन्धन दिने वा नदिने निर्णय गर्न पनि सीटीईभीटीलाई ताकेता गरेका छन्।

शिक्षामन्त्रीका रूपमा नियुक्त भएपछि उनले यसअघि पनि सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था र त्रिभुवन विश्वविद्यालय परिसरको झाडी फडानी गरी बगैंचा निर्माण गर्ने निर्देशन दिएका थिए। पछिल्ला दिनमा मन्त्री पुन मातहतका विभिन्न निकायको ब्रिफिङ र सुधार योजनामा व्यस्त छन्।

Views: 17

प्रतिक्रिया

सम्बन्धित खबर