भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, पूरक परीक्षामा सहभागी एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ जना विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन्, भने ५९ हजार ६९३ जना अनुत्तीर्ण (अवर्गीकृत) भएका छन्।
गत वैशाखमा सम्पन्न वार्षिक एसईई परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ भएका वा अनुपस्थित विद्यार्थीहरूका लागि बोर्डले साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरेको थियो।
बोर्डले नतिजा हेर्नका लागि IVR, SMS (USSD), राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र कक्षा १० को वेबसाइट www.see.gov.np प्रयोग गर्न सकिने व्यवस्था गरेको छ। परीक्षार्थीहरूले आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखी ग्रेडसिट हेर्न तथा डाउनलोड गर्न सक्नेछन्।
बोर्डले प्रकाशित नतिजामा चित्त नबुझेका विद्यार्थीका लागि पुनर्योग (re-totaling) तथा उत्तरपुस्तिका पुनः परीक्षणको सुविधा पनि उपलब्ध गराएको छ। यसका लागि परीक्षार्थीहरूले असोज १९ देखि २९ गते साँझ ५ बजेभित्र बोर्डको वेबसाइटमा गई अनलाइन फाराम भरी आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ।


