EduPress
'

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट र नमूना शिक्षण संस्था बनाउन मुख्यमन्त्री आचार्यको आह्वान

Author Image
आइतवार, असोज २६, २०८२
Text Size:

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट र नमूना शिक्षण संस्थाका रूपमा स्थापित गर्न सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको बताएका छन्।

नेपालगन्जमा सोमबार सम्पन्न विश्वविद्यालयको सातौँ सिनेट बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पछिल्ला गतिविधि र सुधारका प्रयासले विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताएका हुन्। उनका अनुसार विद्यार्थीको बढ्दो आकर्षणले विश्वविद्यालयप्रतिको विश्वास पुनः जगाउन सहयोग पुगेको छ।

“हालैका सुधार र मेहनतले आशाको किरण देखिएको छ, अब यो विश्वासलाई स्थायी बनाउन थप परिश्रम आवश्यक छ,” मुख्यमन्त्री आचार्यले भने। उनले विश्वविद्यालयलाई जनस्तरसम्म पु-याउन र त्यसका कार्यक्रमहरूलाई व्यवहारिक तथा परिणाममुखी बनाउन सामूहिक योगदान आवश्यक रहेको बताए।

उनका अनुसार लुम्बिनी प्राविधिक विश्वविद्यालय भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सङ्गमस्थलमा अवस्थित भएकाले यसले तीनै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्ने ठूलो सम्भावना राख्दछ।

बैठकमा प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले विश्वविद्यालयले विद्यार्थीमा विश्वास जगाउँदै दक्ष र व्यवहारिक प्राविधिक जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

बैठकमा विश्वविद्यालयका आर्थिक, शैक्षिक र प्रशासनिक विषयहरूबारे विस्तृत छलफल भएको थियो। यस क्रममा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन र आव २०८२/८३ को बजेट स्वीकृत गरिनुका साथै अध्ययन संस्थान तथा केन्द्रहरूलाई आर्थिक अधिकार प्रदान गर्ने, शिक्षक तथा कर्मचारी सेवा विनियम संशोधन, करार कर्मचारी व्यवस्थापन कार्यविधि सुधार, र कृषि, वन तथा पर्यटनका नयाँ शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी प्रस्तावहरू पारित गरिएका थिए।a

Views: 15

प्रतिक्रिया

सम्बन्धित खबर