EduPress
'

दिवा खाजा कार्यक्रमले विद्यालयमा बालबालिका बढे

Author Image
बिहिवार, असोज २३, २०८२
Text Size:

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाका विद्यालयमा सञ्चालनमा आएको दिवा खाजा कार्यक्रम प्रभावकारी सावित भएको छ। यस कार्यक्रमले बालबालिकालाई विद्यालय तर्फ आकर्षित गर्दै नियमित उपस्थितिमा वृद्धि गरेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

गाउँपालिका शिक्षा शाखाका प्रमुख कृष्णकुमार चौधरीका अनुसार, दिवा खाजाको व्यवस्था भएपछि विद्यालय आउन नचाहने विद्यार्थी पनि नियमित विद्यालय जाने भएको छ। उनका अनुसार, भर्ना भए पनि विद्यालय छोड्ने विद्यार्थीले पनि अहिले नियमित विद्यालयमा उपस्थिति जनाउन थालेका छन्।

विद्यालयमा खाजाको आकर्षण बढेपछि कक्षा कोठा विद्यार्थीले भरिभराउ हुने गरेको पाइएको छ। गाउँपालिकाले बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा अध्ययनरत विद्यार्थीलाई समेटेर दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको हो।

गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले भने, “पौष्टिक खाजाले बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ र विद्यालयमा अनुपस्थित हुने क्रम पनि घटेको छ। हलुवा, डलिया, खिचडीजस्ता परिकार विद्यार्थीलाई खुवाइन्छ।”

कमल केसी, प्राविधिक सहायक, नरैनापुर शिक्षा शाखा,ले बताए अनुसार, दिवा खाजासँगै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न थालेकोले विद्यार्थी ड्रप आउट हुने क्रम पनि निकै कम भएको छ।

शिक्षा शाखाका अनुसार, विद्यालय बाहिर रहेका करिब २०–२५ प्रतिशत विद्यार्थी अहिले भर्ना भई नियमित विद्यालय आउन थालेका छन्। यसअघि बालबालिकाहरु भर्ना भए पनि विद्यालय नआउने गरेको तर अहिले दिवा खाजाले कक्षा कोठा भरिभराउ बनेको छ र प्रायःजसो विद्यार्थी नियमित उपस्थित हुने गरेका छन्।

Views: 14

प्रतिक्रिया

सम्बन्धित खबर