EduPress
'

जेन–जी आन्दोलनमा १९ हजार विद्यार्थीको उत्तरपुस्तिका जले

Author Image
बुधवार, असोज १५, २०८२
National-Examination-Board
Text Size:

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएका आगजनी घटनाले करिब १९ हजार विद्यार्थीको भविष्य संकटमा परेको छ। प्रहरी चौकीमा राखिएका उत्तरपुस्तिका जलेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र त्रिभुवन विश्वविद्यालय (त्रिवि) दुबै संस्थाले पुनः परीक्षा लिने तयारी गरेका छन्।

भदौ २३ गतेको आन्दोलनपछि प्रदर्शन उग्र बन्दा विभिन्न चौकीमा आगजनी हुँदा ती ठाउँमा राखिएका उत्तरपुस्तिकाहरू जलेका थिए। सिटिइभिटीका अनुसार डिप्लोमा र प्रि-डिप्लोमा तहका १६ हजार ८८३ विद्यार्थीका करिब ६० हजार उत्तरपुस्तिका नष्ट भएका छन्।

परीक्षा उपनियन्त्रक दीपिका शर्माका अनुसार कोशी र बागमती प्रदेशका २३ परीक्षा केन्द्रका उत्तरपुस्तिका नष्ट भएका छन्। असोज १० गतेको बैठकले ती केन्द्रहरूको पुनः परीक्षा मंसिर ४ गतेबाट सुरु गर्ने निर्णय गरेको परिषद्ले जनाएको छ।

तर, विद्यार्थीहरूले भने पुनः परीक्षाको विरोध गर्दै वैकल्पिक मूल्याङ्कनको माग गरेका छन्। उनीहरूले परिषद्को निर्णय फिर्ता गर्न ६ बुँदे मागपत्रसहित संघर्ष समिति गठन गरेका छन्।

त्रिविका पनि करिब डेढ हजार विद्यार्थी प्रभावित भएका छन्। परीक्षा नियन्त्रक सूर्यप्रसाद कलौनीका अनुसार झापा, रौतहट, दाङ र काभ्रेका चार परीक्षा केन्द्रका उत्तरपुस्तिका जलेका छन्। त्रिविले पनि छिट्टै पुनः परीक्षा कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।

Views: 15

प्रतिक्रिया

सम्बन्धित खबर