
डा. तुलसी ’प्रभास’ खनाल
वर्तमान समयका शिक्षा क्षेत्रका विकृतिहरू, झ्याङ्गिँदै गएका सामाजिक समस्याहरू, हाम्रो मौलिक संस्कृतिले भोग्नुपरेको अस्तित्वको संकट, प्रतिकूल बन्दै गएको पर्यावरण, हाम्रा नानीबाबुहरूले झेलिरहेको मनोवैज्ञानिक समस्या र विद्यालयको अपेक्षित भूमिका, बिग्रँदो युवापुस्ता आदि जल्दाबल्दा विषयहरूसँग सम्बद्ध श्रव्य–दृश्य सामग्रीहरूको उत्पादन र प्रशारणमार्फत् नेपाली समाजमा सामाजिक सचेतना अभिवृद्धि गरी स्वस्थ समाज निर्माणमा आफूसक्दो टेवा पु¥याउने उद्देश्यले यस साभ नेपाल (SAAV Nepal- Social Awareness Through Audio & Visual) नामक संस्थाको स्थापना भएको हो । नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा यस संस्थाले काम गरिरहेको छ ।
आ–आफ्नो क्षेत्रमा स्थापित परिचय बनाइसक्नु भएका विज्ञहरूलाई साथमा लिएर स्थापना गरिएको यस संस्थामार्फत नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्नका लागि विभिन्न अनुसन्धानका कामहरू गरिरहेको छ ।
नेपालको पहिचान भनेकासंस्कृति हुन् । युगौँदेखि नेपाली समाजले मौखिक रूपमा जोगाउँदै आएका हाम्रा लोक परम्परा र लोक व्यवहारको खोजी गरेर त्यसलाई लिपिबद्ध गरिएन भने अवका दिनमा ती संस्कृति हराएर जाने निश्चित छ । नेपालमा बसोबास गर्ने हरेक जातजातिको पहिचान गरी उनीहरूका लोक संस्कृतिको अनुसन्धान गर्ने र त्यसलाई लिपिबद्ध गरी प्रतिवेदन तयार पार्ने र त्यसैका आधारमा भिडियो डकुमेन्ट्री तयार पार्ने एउटा ऐतिहासिक कार्यको थालनी यस संस्थाले गरिरहेको छ । त्यसका साथै धार्मिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय तथा ऐतिहासिक स्थलहरूको खोजी गरेर त्यसको बारेमा अनुसन्धानमुलक डकुमेन्ट्री तयार गर्ने यसको रहेको छ ।
त्यसैगरी बालबालिका नै राष्ट्रका जीवन; स्वस्थ समाजका लागि स्वस्थ बालमन भन्ने उक्तिलाई चरितार्थ बनाउने उद्देश्यले यस संस्थाद्वारा विद्यालयसँग सम्बन्धित रहेर विद्यार्थी, अभिभावक, शिक्षक, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुका लागि समसामयिक विषयवस्तुमा तालिम तथा सेमिनारहरु सञ्चालन गर्दै आएको छ । साथै स्थानीय तहको पाठ्यक्रम निर्माणमा पनि साभ नेपालले सहजीकरण गरिरहेको छ । यस संस्थाद्वारा विभिन्न कार्यक्रमबाट वचत रहेको केही प्रतिशत रकम विद्यालय शिक्षाबाट बञ्चित रहेका बालबालिकाको हितमा उपयोग गरिएको छ ।
त्यसैगरी साभ नेपालद्वारा केही अनुसन्धानात्मक सामाजिक, सांस्कृतिक, शैक्षिक तथा मनोवैज्ञानिक वृत्तचित्र लगायत मोटिभेसनल अडियो–भिडियो सामग्री पनि उत्पादन भैरहेका छन् । यस संस्थाले हाल काँचो माटो नामक बाल मनोवैज्ञानिक वृत्तचित्र प्रदर्शन गरिरहेको छ । साथै नेपालको समग्र परिचय सहित यहाँका लोपोन्मुख र सीमान्तकृत लगायत विभिन्न जातजातिका जातीय संस्कार, संस्कृति, र जीवनशैलीबारे अनुसन्धान गरी तयार गरिएको वृत्तचित्र नेपाल स अनेक जाति, अनेक संस्कृति पनि प्रदर्शन भैरहेको छ । जुन वृत्तचित्र सामाजिक शिक्षा विषयको लागि निकै उपयोगी रहेको विश्वास गरिएको छ ।
यस संस्थाले शिक्षा क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्नको लागि विभिन्न अनुसन्धानका कामहरु पनि गर्दै आएको छ । सामुदायिक संस्थाहरुमा नतीजा कमजोर हुनाका कारणहरु खोजी गरी सम्बन्धित विद्यालयका सरोकारवालालाई सुझाव प्रदान गर्दै आएको छ । त्यसैगरी विद्यार्थीका लागि, अभिभावकका लागि र शिक्षकहरुका लागि साथै सरोकारहरुका लागि पनि विभिन्न उत्प्रेरणा (मोटिभेसन)का कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ विद्यार्थीहरुलाई अनुशासन, जीवन मूल्य, भावनात्मक बुद्धिमत्ता, बहुबुद्धि सिद्धान्त, खुसी सिकाइ, सकारात्मक सोच आदि विषयहरूमा पनि साभ नेपालले प्रशिक्षणका कार्यक्रमहरु गर्दै आएको छ ।
स्थानीय तहका पाठ्यक्रम कार्यान्वयनमा साभ नेपालको सहजीकरण
नेपालमा २०४९ सालदेखि स्थानीय पाठ्यक्रमको अवधारणा प्रारम्भ भएको भए पनि अहिलेसम्म धेरै स्थानीय तहहरु यस विषयमा बेखबर छन् । स्थानीय स्तरमा सक्षम जनशक्तिको अभाव र यसको महत्वलाई नबुझेर पनि स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखनजस्तो गम्भीर विषयलाई धेरैले महत्व नदिएको पाइएको छ ।
स्थानीय तहहरुका कामलाई सहज बनाउँदै समाजका जल्दाबल्दा विषयहरूसँग सम्बद्ध सामग्रीहरूको उत्पादन र प्रशारणमार्फत् नेपाली समाजमा सामाजिक सचेतना अभिवृद्धि गरी स्वस्थ समाज निर्माणमा आफूसक्दो टेवा पुर्याउने उद्देश्यले साभ नेपाल नामक संस्थाले पोखरामा आफ्नो कार्यालय स्थापना गरी काम गरिरहेको छ ।
आ–आफ्नो क्षेत्रमा स्थापित परिचय बनाइसकेका विज्ञहरूलाई साथमा लिएर स्थापना गरिएको यस संस्थामार्फत नेपालका सबै जातजातिका मौलिक संस्कृतिको जगेर्ना गर्नका लागि विभिन्न अनुसन्धानका कामहरु गर्नुका साथसाथै नेपालको संविधान २०७२, पन्ध्रौँयोजनाको अवधारणा पत्र, स्थानीय सरकार सञ्चालन ऐन २०७४, राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७५ लगायतका विकास प्रक्रियाहरुको परिधिभित्र रहेर स्थानीय तहको पाठ्यक्रम तयार गरी सोही पाठ्यक्रमअनुसारका आधारभूत तहका सबै कक्षाका पाठ्यपुस्तकहरु लेखन तथा प्रकाशन गरी सम्बन्धित शिक्षकहरुलाई तालिम समेत प्रदान गरेर स्थानीय तहका धेरै विद्यालयहरुमा पठनपाठनका लागि सहजीकरण गरिरहेको छ ।
स्थानीय तहको पहिचान गराई समाजको आवश्यकताअनुसारको शिक्षा स्थानीय स्तरमै उपलब्ध गराउने उद्येश्यका साथ स्थानीय तहलाई सघाउनका लागि थालिएको यस प्रयासमा धेरै जनप्रतिनिधि, समाजसेवी र सचेत व्यक्तित्वबाट प्रेरणादायी सहयोग मिलिरहेको भनाइ साभ नेपालका अध्यक्ष डा. तुलसी प्रभास खनालले बताए । यस अभियानमा स्थानीय तहहरुले आर्थिक, बौद्धिक तथा नैतिक रूपमा सहयोग गरी उपयुक्त वातावरणको सिर्जना गरी प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन् ।
स्याङ्जाका भीरकोट, फेदीखोला, कालीगण्डकी र बिरुवा पालिकाबाट एकसाथ काम सुरु गरेको साभ नेपालले यी पालिकामा एकसाथ आधारभूत तह (कक्षा १–८) को पाठ्यक्रम निर्माण गरी पाठ्यपुस्तक समेत तयार गरेर सबै विद्यालयहरुमा कार्यान्वयन गर्न सहजीकरण गरेको थियो । स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा साभ नेपालले सम्बन्धित पालिकाका विज्ञहरु र लेखकहरुलाई नै साथमा लिएर काम गरिरहेको छ । यस सम्बन्धमा अध्यक्ष डा.प्रभासले भन्नुभयो – ‘‘स्थानीय पाठ्यक्रम स्थानीय विज्ञहरुले नै निर्माण गर्ने हो । स्थानीयका चाहना र भावनाहरुलाई सहजीकरण गर्ने काममात्र साभ नेपालले गरेको हो ।
नीतिश्लोकमा भनिएको छ–
‘‘अमन्त्रमक्षरं नास्ति नास्ति मूलमनौषधम् ।?
अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः ।।’’
त्यही दुर्लभ योजकको आवश्यकताको पूर्ति साभ नेपालले गरेको हो । यी पाठ्यपुस्तक तयारीका लागि साभ नेपालले दक्ष र व्यावसायिक लेखकहरू चयन गरेको छ । ती सबै लेखकहरूले पाठ्यक्रमको गहन अध्ययन गरी सोही अनुसारको अनुसन्धान गरेर मात्र लेखन सुरु गर्दछ । अनुसन्धानका क्रममा स्थानीय पालिकाका सबैै वडाका हरेक टोल, बस्ती र विद्यालयहरूमा पुगेर तथ्य सङ्कलन गरिन्छ । सो क्रममा हरेक वडाबाट प्रतिनिधि शिक्षकहरू पनि चयन गरिन्छ ।
साथमा पाठ्यक्रम निर्माण सहजीकरण समिति र पाठ्यक्रम मस्यौदा लेखन समितिसँग पनि पटकपटक बैठक तथा भेला गरी उहाँहरूकै सुझावका आधारमा लेखन कार्य गरिन्छ । लेखन सम्पन्न भैसकेपछि पनि विभिन्न चरणमा स्थानीय विज्ञहरूसँग छलफल गरेरमात्र पाठ्यपुस्तकहरू छपाइका लागि तयार गरिन्छ ।’
स्याङ्जाबाट सुरु भएको यो अभियान हाल कास्की, तनहुँ, बाग्लुङ, नवलपरासी, रुपन्देही, गुल्मी लगायतका जिल्लाहरुमा विस्तार भएको छ । हालसम्म ७५ वटा स्थानीय तहले साभ नेपालकै पहलमा स्थानीय पाठ्यक्रम लागू गरिसकेका छन् ।
स्थानीय पाठ्यक्रमअनुसारका पाठ्यपुस्तकहरु विद्यालयमा पुगेपछि विद्यार्थी तथा शिक्षकहरु अत्यन्तै खुसी भएको र खाली समयमा पनि यही पुस्तक पढेर बस्ने गरेको कुरा भीरकोटकी एक शिक्षिकाले बताउनुभयो । त्यसैगरी घरमा पनि अभिभावकहरुले फूर्सदको समयमा आफ्नै गाउँठाउँका सम्पदाहरु समेटिएको पुस्तक पढेर बस्ने गरेको कुरा कालीगण्डकीका एक अभिभावकले बताए
नगरपालिकाका सबै विषयक्षेत्र समेटेर कक्षा १ देखि आठसम्मकै पाठ्यक्रम र पाठ्यपुस्तक एकसाथ लागू गरेको नेपालकै पहिलो नगरपालिका भीरकोटका निवर्तमान नगरप्रमुख छायाराम खनालले भने– ‘‘मेरो पाँच वर्षे कार्यकालमा मलाई सबैभन्दा सन्तुष्टि मिलेको काम स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक कार्यान्वयनको काम हो । आज पनि बालबालिकाको हातमा ‘‘हाम्रो भीरकोट’’ नामक स्थानीय पाठ्यपुस्तक देख्दा खुसी लाग्छ ।’’
‘‘बालबालिका राष्ट्रका जीवन, स्वस्थ समाजका लागि स्वस्थ बाल मन’’ नामक उद्गारलाई आफ्नो मुख्य मन्त्र बनाएर काम गरिरहेको साभ नेपाल ‘‘शिक्षकका हातमा पाठ्यक्रम र विद्यार्थीका हातमा पाठ्यपुस्तक’’ पु¥याउने अभियानमा जुटिरहेको छ । न्यूनतम खर्चमा उच्चतम विज्ञहरुलाई साथमा लिएर काम गरिरहेको साभ नेपालका अध्यक्ष डा. प्रभास भन्छन्– ‘‘पहिला आफ्नो माटो चिनौँ, अनि बल्ल संसार चिनौँ ।’’
(डा. तुलसी प्रभास साभ नेपालका अध्यक्ष हुनुहुन्छ । नेपाली र शिक्षामा एमए र नेपाली अन्तर्गतको लोक संस्कृतिमा विद्यावारिधि गर्नुभएका खनालले नेपालका १२० जातजातिको सामाजिक सांस्कृतिक अनुसन्धान गर्नुभएको छ । हालसम्म नेपालका ७० वटा स्थानीय तहका पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरिसक्नु भएका खनालले विद्यालयहरूमा उत्प्रेरणा प्रशिक्षण लगायतका काम गर्नुभएको छ ।)


