काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अधिस्नातक तहको परीक्षामा ताहाचल क्याम्पसका विद्यार्थीमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । महेन्द्ररत्न क्याम्पस ताहाचल स्वतन्त्र विद्यार्थी युनियनले एक विज्ञप्ति जारी गर्दै त्रिवि शिक्षा शास्त्र संकाय डिन कार्यालयलाई यस विषयमा छानविन समेत गर्न माग गरेको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय डिन कार्यालयले सन्चालन गरिरहेको अधिस्नातक तह (Post Graduate Diploma- PGD) अन्तर्गत प्रथम सेमेष्टरको कार्तिक २८ गते प्रकाशित भएको नतिजामा महेन्द्ररत्न क्याम्पस ताहाचलका विद्यार्थीहरुलाई प्रतिशोधपूर्ण तरिकाले अनुत्तीर्ण गराएको स्ववियुको भनाइ छ । महेन्द्ररत्न क्याम्पस ताहचलका स्ववियु अध्यक्ष ईश्वर कुमार थापाले उक्त विषयको उत्तरपुस्तिका जाँचमा गम्भीर लापरवाही र त्रुटी गरिएको दावी गरेका छन् ।
थापाले त्रिवि शिक्षाशास्त्र संकायका डिनलाई यो कार्य प्रतिशोधपूर्ण व्यवहार भएको उल्लेख गर्दै तत्काल छानविन गर्न ध्यानाकर्षण गराएका छन् ।


