सुनसरी । सुनसरीको एक विद्यालयले वार्षिकोत्सवका अवसरमा ९५ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ । इटहरी नगरपालिका वडा नं. १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले यसरी छात्रवृत्ति वितरण गरेको हो ।
विद्यालयको ७० औं वार्षिकोत्सवको अवसरमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको विद्यालयले जनाएको छ । दाताले स्थापना गरेको २७ अक्षयकोषबाट प्राप्त व्याजको रकमले यो छात्रवृत्ति प्रदान गरिएको हो ।
राष्ट्रिय माध्यमिक विद्यालयमा ३७ वटा अक्षयकोष स्थापना गरिएका छन् । वार्षिकोत्सवमा विद्यालयले वर्षभरी विभिन्न गतिविधिमा उत्कृष्ट हुने छात्राछात्रलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ ।
विद्यार्थीहरुसँगै विद्यालयका शिक्षक र कर्मचारीहरुलाई सम्मान गरिएको छ । विद्यालयका तर्फबाट १४ जना शिक्षक तथा कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्ने दाताहरु र विद्यालयको भौतिक पूर्वाधारमा सहयोग गर्ने नौं जना व्यक्तित्वलाई पनि सम्मान गरियो । अक्षयकोष स्थापना गर्ने दाताहरुलाई मरणोरान्त सम्मान गरिएको हो ।
यस वर्षदेखि विद्यालयले टिचर अफ दि इयर र स्टुडेन्ट अफ दि इएर पुरस्कारको पनि घोषणा गरेको छ । सो पुरस्कार अन्तर्गत शिक्षकतर्फ यूवराज काफ्ले र विद्यार्थीतर्फ कक्षा ९ का कृष्ण खनाल उत्कृष्ट भएको घोषणा गरियो । टिचर अफ दी इयर युवराज काफ्ले र स्टुडेन्ट अफ दि इयर कृष्ण खनाल दुवै जनालाई नगदसहित सम्मान गरियो ।
विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले वार्षिकत्सवको अवसरमा आर्थिक वर्ष २०८१ ०८२ को वार्षिक आय–व्यय प्रस्तुत गरे । प्रअ बस्नेतले आन्तरिक र बाह्य गरी विद्यालयको वार्षिक आम्दानी चार करोड ८८ लाख ९६ हजार १४६ रुपैयाँ रहेको र चार करोड ८७ लाख ५० हजार ७२ रुपैयाँ खर्च भएको बताए ।
यसैबीच विद्यालयमा सभाहल निर्माणका लागि शिलन्यास गरिएको छ । उक्त सभाहल विद्यालयका भूतपूर्व विद्यार्थीले २० लाख रुपैयाँ खर्चेर निर्माण गर्न लागेको बताइएको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यालयमा साताव्यापी खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । विभिन्न ५१ वटा विधामा गरिएको खेलकुद प्रतियोगिताबाट उत्कृष्ट भएका ३०० जनालाई पुरस्कार प्रदान गरिएको थियो ।


