काठमाडौं । विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले चेतावनी दिएका छन् ।
मन्त्री पुनले यसअघि नै देशका सबै पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताएका छन् । यदि नियमानुसार विव्यस गठन नगरे संघीय अनुदान रोक्ने बताएका छन् । मन्त्री पुनका अनुसार मन्त्रालयले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरूको नाम संकलन गरिरहेको छ ।
मन्त्री पुनले भनेका छन् ‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन् । त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ । अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ ।
धेरैजसाे पालिकाले मन्त्रालयकाे निर्देशन विपरित मनाेमानी ढङ्गले विद्यालय व्यवस्थापन समितिहरू गठन गरेका छन् । यस्तो मनपरी कार्यले विद्यालयको गुणस्तर, पारदर्शिता र अभिभावकको विश्वासमाथि गम्भीर असर परेको बताउँदै मन्त्री पुनले भनेका छन्, ‘विद्यार्थीको भविष्यसँग खेलवाड हुने कुनै पनि गतिविधि सह्य हुँदैन । नियमअनुसार विद्यालय चलाउन सबै पालिकाले अनिवार्य रूपमा व्यवस्थापन समिति गठन गर्नैपर्छ।’
मन्त्री पुनले मनपरी गर्ने विद्यालयहरू आफ्ना क्षेत्रमा वा अन्यअनियमितता भए गरेमा तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गरेका छन् ।


