- जगत वाशिष्ठ
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘कला पत्रकारिताका अवस्था र चुनौती’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा लेखक तथा पत्रकार नारायण ढुङ्गानाले कार्यपत्र प्रस्तुत गरेका थिए।
ढुङ्गानाको कार्यपत्रमाथि कला पत्रकार सुशिला तामाङले टिप्पणी गर्दै कला पत्रकारिताको वर्तमान स्वरूप, कोभिड–१९ पश्चातको अवस्थालगायत महिला पत्रकारको योगदान तथा राज्यस्तरबाट आवश्यक नीतिगत पहलबारे प्रकाश पारेकी थिइन्।
कार्यक्रममा जगत् वाशिष्ठ, दिवेशमान सिंह प्रधान, ओमप्रकाश घिमिरे, डिल्ली आचार्य, मधु शाही, चाँदनी हमाललगायत सहभागीले कला पत्रकारितालाई सुदृढ बनाउन सुझाव प्रस्तुत गरे।
कुलपति हार्तम्छालीले कलाको संवर्धन र प्रवर्धनमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रतिष्ठानले अनुसन्धान, सम्मान–पुरस्कार, खोज तथा अध्ययनमा आफ्नो काम निरन्तर अघि बढाइरहेको बताए। उनका अनुसार सामाजिक र सांस्कृतिक रूपान्तरणमा कलाले बजाउने भूमिकालाई प्रभावकारी ढंगले सम्प्रेषण गर्नु कला पत्रकारको जिम्मेवारी हो।
प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कला, संस्कृति र सभ्यतासँग जोडिएको विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म पुर्याउन यस्तो कार्यक्रम आवश्यक भएको जनाए।
कार्यपत्र प्रस्तुत गर्दै ढुङ्गानाले कला पत्रकारिताको सुरुवातदेखि हालसम्मको यात्रा, यसको चुनौती तथा विकासका दिशा र सम्भावनाबारे विस्तृत विश्लेषण गरे। उनले कला क्षेत्रमा जनचासो र सहभागिता बढाउन सबै सम्बद्ध निकाय एकजुट हुनुपर्नेमा जोड दिए।
सुझावहरूमा कला पत्रकारितालाई मूलधारको पत्रकारितासँग जोड्न राज्यका कला–सम्बद्ध निकायहरूसँग सहकार्य बढाउनु पर्ने, विद्यालयदेखि विश्वविद्यालयसम्म कलालाई अध्ययन–अध्यापनमार्फतै पत्रकारितासँग जोड्न सकिने, नवदित पुस्तालाई प्रोत्साहन गर्न छात्रवृत्ति वा शोधवृत्ति व्यवस्था गर्नुपर्ने लगायतका विषय समेटिएका थिए।
सहभागीहरूले कला पत्रकारिताको गहिरो अध्ययनका लागि कार्यशाला, सैद्धान्तिक प्रशिक्षण तथा कला बुझेर लेख्ने संस्कार स्थापित गर्नुपर्ने सुझाव पनि दिएका थिए।
जिज्ञासाको एकमुष्ट जवाफ दिने क्रममा प्रमुख अतिथि हार्तम्छालीले प्रतिष्ठानले कलाको पुनर्जागरणका लागि प्रदेश–प्रदेशमा प्रदर्शनी, कार्यशाला तथा विभिन्न विश्वविद्यालयमा कला विभाग स्थापना हुने प्रक्रियालाई सहयोग गर्दै आएको जानकारी दिए।
कार्यक्रममा कलाकार, पत्रकार, विद्यार्थी तथा विभिन्न संगठनका प्रतिनिधिहरूको सहभागिता थियो। सोही अवसरमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूको कला प्रदर्शनी तथा दिवंगत कलाकार जीवन आचार्यको जीवनीमा आधारित कृतिहरू पनि प्रदर्शित गरिएका थिए।


