EduPress
'

सामुदायिक विद्यालयका विज्ञान शिक्षकलाई नास्टको एआई तालिम

Author Image
शुक्रवार, मंसिर २६, २०८२
Text Size:

काठमाडौ । सामुदायिक विद्यालयमा कार्यरत विज्ञान शिक्षकलाई आधुनिक डिजिटल सीप र एआई-आधारित शिक्षण विधिमा सक्षम बनाउने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विशेष तालिम दिएको छ।

नास्टअन्तर्गत रहेको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्र (सूचना पहुँच केन्द्र) द्वारा आयोजित ‘प्रभावकारी उपकरण र प्रविधिमार्फत आधुनिक शिक्षक सशक्तीकरण” तालिममा गोकर्णेश्वर नगरपालिकाका मातहतका विज्ञान शिक्षकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियाे ।

तालिममार्फत शिक्षकहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रयोग गरेर कक्षाकोठामा सिकाइ कसरी प्रभावकारी बनाउने, शैक्षिक सामग्री कसरी छिटो र व्यवस्थित रूपमा तयार गर्ने, कक्षा–तयारीका कार्यलाई कसरी सरल बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत प्राविधिक प्रशिक्षण प्रदान गरिएको नगरपालिका प्रमुख दिपक कुमार रिसालले जानकारी दिए ।

एकदिने तालिममा सहभागी शिक्षकहरूले एआईबाट शिक्षण–सिकाइलाई थप सरल, आकर्षक र विद्यार्थीमैत्री बनाउने स्पष्ट मार्गदर्शन पाएको प्रतिक्रिया दिए ।

कार्यक्रम डा. विमला देवी देवकोटाको अध्यक्षतामा सञ्चालन गरिएको थियो । नास्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले आधुनिक शिक्षणमा एआईको भूमिका अनिवार्य बन्दै गएको उल्लेख गर्दै नास्टले सञ्चालन गर्दै आएको प्रविधि-उन्मुख शैक्षिक पहलले शिक्षकलाई आधुनिक शिक्षण पद्धतिमा सक्षम बनाउन महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे ।

पाठ्यक्रम निर्माण टोलीका सदस्य तथा कम्प्युटर विज्ञान पुस्तकका लेखक सुनिल कुमार घर्तीले एआईको सहायताले शिक्षकलाई सहज रूपमा प्रश्नपत्र निर्माण गर्न, विषयवस्तु तयार पार्न र विद्यार्थीलाई डिजिटल उपकरण तथा एआई टुलबारे व्यवस्थित ज्ञान दिन मद्दत पुग्ने दावी गरे ।

गोकर्णेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले याे तालिम शिक्षकका लागि निकै महत्वपूर्ण रहेकाे बताए । उनले तालिममा राहुल महथा र अनुपराज पौड्यालले स्रोतव्यक्तिका रूपमा सहभागी शिक्षकलाई विभिन्न एआई तथा डिजिटल उपकरणहरूको प्रत्यक्ष अभ्यास गराउँदै कक्षाकोठामा प्रभावकारी रूपमा कसरी प्रयोग गर्ने भन्नेबारे प्राविधिक ज्ञानमा सहजिकरणा गरेकाे पनि जानकारि दिए ।

शिक्षकहरूलाई एआई प्रयोग गरेर समय सापेक्ष शैक्षिक सामग्री तयार गर्न र डिजिटल क्षमता अभिवृद्धि गर्न तालिमले सहयोग पुर्याउने नास्टको सूचना पहुँच केन्द्रका संयोजक प्रदीप ढोडारीले प्रष्ट पारे ।

नास्टले प्रत्येक शुक्रबार सञ्चालन गर्दै आएको यस्ता तालिमहरूले शिक्षकलाई आधुनिक प्रविधिको समुचित प्रयोगमा सक्षम बनाउँदै कक्षा–कक्षालाई सहभागीमुखी, सक्रिय र प्रविधिमैत्री बनाउने तथा समग्र रूपमा शिक्षण–सिकाइको स्तर उकास्ने योगदान दिइरहेको कार्यक्रम संयोजक ढोडारीले बताएका छन् । उनले यसअघि चन्द्रागिरी र टोखाका शिक्षकलाई तालिम दिइएको स्मरण गर्दै उनले उपत्यकाका सबै पालिकालाई यस्तो तालिम उपलब्ध गराइने जानकारी गराए ।

 

प्रतिक्रिया

सम्बन्धित खबर