- जगत वाशिष्ठ
काठमाडौं । माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धिका लागि अन्तरक्रिया तथा बैठक सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौको आयोजनामा शुक्रबार प्रअहरुको बैठक राखिएको हो ।
बैठकमा काठमाडौ महानगरपालिका वडा नं. १५ देखि १९ का विद्यालय तथा चन्द्रागिरि, तारकेश्वर, नागार्जुन र टोखा नगरपालिकाका सबै माध्यमिक विद्यालयको सहभागीता रहेको थियो । जिल्लाको शैक्षिक गतिविधि तथा शैक्षिक ऐन नियम र शिक्षकको वृद्धि विकासका विषयमा, शैक्षिक गुणस्तर विकास, विद्यालयको असल अभ्यास तथा विद्यालय व्यवस्थापन लगायतका विषयमा छलफल भएको थियो ।
काठमाडौं जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका अनुसार उक्त बैठकमा शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठ, नेपाल सरकारका पूर्व उप सचिव श्री राम प्रसाद सुवेदी र तिलिङ्गाटार मा.वि. काठमाडौका नि।वर्तमान प्र.अ. श्री सरोज कुमार पाण्डेले फरक फरक विषयमा आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
इकाइ प्रमुख डा. समन्तमणि आचार्यको अध्यक्षता बसेको बैठकमा जिल्ला शिक्षा समिति काठमाडौका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख सन्तोष बुढाथोकी प्रमुख अतिथि, प्रधानाध्यापक संघ नेपाल (पान) का केन्द्रीय अध्यक्ष सुदाम प्रसाद गौतम विशेष आतिथि र टोखा नगरपालिकाका शिक्षा अधिकृत विजया भट्टराई लगायतको अतिथिका रुपमा उपस्थिति रहेको थियो ।
सहभागीको तर्फबाट नागार्जुन मा.वि.का प्रअ रामकुमारी पौडेलले तीनवटै सेसनमा भएको प्रस्तुतिकरणको समिक्षा गर्दै विद्यालय संचालन व्यवस्थापन तथा गुणस्तर अभिवृद्धिमा यस किसिमको कार्यक्रमले धेरै सहयोग पुग्ने बताएका थिए । त्यस्तै कार्यक्रमका अध्यक्ष डा. समन्तमणि आचार्यले प्रशिक्षक तथा सहभागी सवैलाई धन्यवाद दिँदै विद्यालयको शैक्षिक गुणस्तर विकासमा सबैले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।



