- जगत वाशिष्ठ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको समन्वयमा बौद्धस्थित जनकल्याण माध्यमिक विद्यालयको समग्र अनुगमन तथा निरीक्षण गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौँका इकाइ प्रमुख डा. समन्तमणि आचार्यको नेतृत्वमा ११ जना विषय विज्ञसहितको टोलीले विद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक तथा आर्थिक जिन्सी व्यवस्थापन पक्षको निरीक्षण तथा सर्वेक्षण गरेको हो।
अनुगमनका क्रममा पाँच मुख्य विषयका ११ जना विषय विज्ञले पहिलो घण्टीमा ११ कक्षा र दोस्रो घण्टीमा थप ११ कक्षा गरी कुल २२ जना शिक्षकको कक्षा अवलोकन गरेका थिए। कक्षा अवलोकनपछि शिक्षकहरूलाई आवश्यक सुझाव र पृष्ठपोषण प्रदान गरिएको थियो। अनुगमन टोलीमा इकाइका शाखा अधिकृत कृष्णकुमार श्रेष्ठ र काठमाडौँ शिक्षा विभागकी वरिष्ठ विद्यालय निरीक्षक विनिता महतको समेत सहभागिता रहेको थियो।
कक्षा अवलोकन तथा प्रशासनिक, आर्थिक र भौतिक पक्षको अनुगमन पश्चात कक्षा शिक्षणमा संलग्न शिक्षक र अनुगमनकर्ताबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा इकाइ प्रमुख डा. समन्तमणि आचार्य, कक्षा प्रदर्शन गराउने शिक्षकहरूको तर्फबाट दीपक घिमिरे र सिर्जना घिमिरे, विषय विज्ञहरूको तर्फबाट सुशील खनाल, विद्यालयका प्रधानाध्यापक दीपकबाबु श्रेष्ठ तथा वरिष्ठ विद्यालय निरीक्षक विनिता महतलगायतले सामूहिक सुपरिवेक्षणको औचित्य र महत्वबारे धारणा व्यक्त गरेका थिए। अन्तरक्रियाको सहजीकरण शाखा अधिकृत कृष्णकुमार श्रेष्ठले गरेका थिए।
विद्यालय परिवारले काठमाडौँ महानगरपालिकाले पहिलो पटक आधुनिक र समग्र विद्यालय सुपरिवेक्षणका लागि जनकल्याण माध्यमिक विद्यालयलाई छनोट गरेकोमा खुशी व्यक्त गर्दै यस्तो अभ्यासलाई निरन्तरता दिन सुझावसमेत दिएको छ।


