- जगत वाशिष्ठ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५१औँ दीक्षान्त समारोहमा सन् २०१८ का भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता जापानको टोकियो विश्वविद्यालयका प्राध्यापक ताकाआकी काजितालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेको छ । त्रिविले दीक्षान्त समारोहको तयारी र व्यवस्थापनबारे जानकारी दिन परीक्षा नियन्त्रण कार्यालयमार्फत पत्रकार सम्मेलन आयोजना गरेको हो ।
त्रिवि उपकुलपतिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा. दीपक अर्यालले ८९ हजार १९१ जना उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार ३८० जना दीक्षित विद्यार्थी र उनीहरूका अभिभावकसहित करिब ५० हजार जनाको उपस्थितिमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीक्षान्त समारोह आयोजना हुने जानकारी दिए ।
उनका अनुसार नोबेल पुरस्कार विजेता प्राध्यापक काजिता दीक्षान्त समारोहको भोलिपल्ट त्रिविमा विशेष प्रस्तुति दिनुका साथै विद्यार्थीहरूसँग अन्तरक्रियामा सहभागी हुनेछन्, जसले नेपाली युवा विद्यार्थीलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
त्रिविका रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले विश्वविद्यालयको शैक्षिक गरिमा अभिवृद्धि गर्न र विद्यार्थीलाई विश्वस्तरीय उपलब्धिबाट प्रेरित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वैज्ञानिकलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको बताए ।
दीक्षान्त समारोहको व्यवस्थापन, सुरक्षा, यातायात र पार्किङ व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको परीक्षा नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेलले जानकारी दिए । उनका अनुसार प्रमाणपत्र वितरणदेखि समग्र व्यवस्थापनसम्म कतै पनि कमजोरी नहुने गरी तयारी गरिएको छ ।
दीक्षान्त समारोहको ऐतिहासिक र नैतिक महत्वबारे बोल्दै प्रा.डा. पौडेलले प्राचीन गुरुकुल परम्परादेखि आधुनिक विश्वविद्यालयसम्म दीक्षान्तको अर्थ ज्ञानसँगै जिम्मेवारी र आचारको सम्मान गर्नु भएको उल्लेख गरे । विश्वविद्यालयबाट आर्जन गरेको शैक्षिक उपाधिको गरिमा जोगाउनु दीक्षित व्यक्तिको नैतिक दायित्व भएको उनको भनाइ थियो ।
यस वर्षको ५१औँ दीक्षान्त समारोहमा विभिन्न २५ पदक प्रदान गरिनेछन् । तीमध्ये ११ पदक छात्राले र १४ पदक छात्रले प्राप्त गर्नेछन् । पदक प्राप्त गर्ने विद्यार्थीहरूको नाम समारोहकै दिन सार्वजनिक गरिने जनाइएको छ ।
गाउन वितरणका सम्बन्धमा हालसम्म करिब ९ हजार विद्यार्थीले गाउन बुझिसकेको र विद्यार्थीको चापलाई मध्यनजर गर्दै शनिबारसमेत वितरण जारी रहने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । गाउनको धरौटी रकम फाराम भर्दा उपलब्ध गराइएको बैंक खातामै फिर्ता पठाइने व्यवस्था मिलाइएको पनि जानकारी दिइयो ।
विगतका वर्षहरूमा दीक्षान्त समारोहमा अत्यधिक भिडभाड र अव्यवस्थापनको गुनासो आएको उल्लेख गर्दै यस वर्ष त्यस्ता गुनासो नआउने गरी विशेष तयारी गरिएको त्रिविले जनाएको छ । दीक्षान्त समारोहलाई संकायअनुसार छुट्टाछुट्टै आयोजना गर्ने विषयमा भने ग्रेस सूची त्रिवि सभाबाट पारित गर्नुपर्ने प्रक्रिया जटिल हुने भएकाले तत्काल सम्भव नभएको उपकुलपति अर्यालले स्पष्ट पारे । यद्यपि, भविष्यमा दीक्षान्त समारोहलाई विकेन्द्रीकरण गर्ने अवधारणा अनुसार आगामी वर्ष पोखरामा परीक्षण गर्ने योजना रहेको उनले बताए ।
दीक्षान्त समारोहमा प्रत्यक्ष सहभागी भएर गाउन नलगाए पनि सम्बन्धित अवधिसम्म योग्य भएका सबै विद्यार्थी दीक्षित भएको मानिने व्यवस्था रहेको त्रिविले स्पष्ट पारेको छ । समारोहमा सहभागी हुन नसकेका विद्यार्थीले पछि परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा आवेदन दिएर मूल प्रमाणपत्र लिन सक्ने व्यवस्था रहेको पनि जानकारी दिइयो ।
उत्तीर्ण विद्यार्थीको तुलनामा दीक्षान्त समारोहमा उपस्थित हुनेको संख्या कम हुनुका कारण विदेशमा रहेका, व्यक्तिगत कारणले उपस्थित हुन नसकेका वा समारोहमा सहभागी हुन रुचि नराखेका विद्यार्थी रहेको त्रिविको भनाइ छ । तर, दीक्षान्त समारोहका लागि योग्य भएका सबै विद्यार्थीलाई दीक्षित मानिने व्यवस्था कायम रहेको विश्वविद्यालयले जनाएको छ ।


