EduPress
'

विज्ञान शिक्षकको क्षमता विकासका लागि तालिम सम्पन्न

Author Image
शनिवार, पौष ११, २०८२
Text Size:

गुल्मी । विज्ञान शिक्षाको गुणस्तर सुधारलाई लक्षित गर्दै गुल्मीमा विज्ञान शिक्षकहरूका लागि एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीको आयोजना तथा निमा पुस्तक प्रकाशन, काठमाडौंको प्रायोजनमा शनिबार सदरमुकाम तम्घासमा तालिम सञ्चालन गरिएको हो।

कार्यक्रममा जिल्लाभरका माध्यमिक र आधारभूत तहका ७० जना विज्ञान शिक्षकको सहभागिता रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीका अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिए। उनका अनुसार तालिममा विज्ञान विषयको प्रभावकारी शिक्षण, प्रश्नपत्र निर्माण तथा शिक्षण प्रक्रियामा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को प्रयोगबारे विशेष जोड दिइएको थियो।

तालिमका प्रशिक्षकका रूपमा पाठ्यक्रम विकास केन्द्रका विज्ञ, विज्ञान विषय लेखक तथा विषयविज्ञ जयानन्द कपाडी रहेका थिए। उनले प्रयोगात्मक शिक्षण विधि, प्रविधिमैत्री कक्षाकोठा विकास, प्रश्न निर्माणका आधार र आईसीटीको व्यवहारिक प्रयोगसम्बन्धी सत्र सञ्चालन गरे। तालिम सिद्धबाबा माध्यमिक विद्यालय, तम्घासमा आयोजना गरिएको थियो।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरेले पेशागत संघसंस्थाले यस प्रकारका क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नु शिक्षामा गुणात्मक सुधारतर्फको महत्वपूर्ण कदम भएको उल्लेख गरे।

प्रतिक्रिया