EduPress
'

ललितपुरमा व्यापार-समाज-प्रविधि संवादः विद्यार्थी अनुसन्धानलाई नीतिसँग जोड्ने प्रयास

Author Image
शुक्रवार, पौष १७, २०८२
Text Size:

ललितपुर । उच्च शिक्षामा सैद्धान्तिक ज्ञान र व्यवहारबीचको दूरी कसरी घटाउने ? प्रविधिले सिर्जना गरेका अवसर र चुनौतीलाई कलेज–विश्वविद्यालयले कसरी आत्मसात् गर्ने ? यिनै प्रश्नको वरिपरि केन्द्रित हुँदै ललितपुर महानगरपालिकामा रहेको नेस्फिल्ड इन्टरनेशनल कलेजले दुई दिने राष्ट्रिय विद्यार्थी सम्मेलन आयोजना गरेको छ। सम्मेलनको मूल विषय व्यापार, समाज र प्रविधिसम्बद्ध समसामयिक मुद्दा हो, जसले वर्तमान उच्च शिक्षा प्रणालीका प्राथमिक चुनौतीहरूलाई उजागर गर्ने प्रयास गरेको देखिन्छ।

उद्घाटन सत्रमा कलेज व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. सन्तोषराज पौडेलले सम्मेलनको अध्यक्षता गरे। देशभरका विभिन्न विश्वविद्यालयअन्तर्गतका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका अनुसन्धान पत्रहरू सम्मेलनका मुख्य आकर्षण हुन्। ती अनुसन्धानहरू व्यापारिक अभ्यास, सामाजिक परिवर्तन र प्रविधिको प्रयोगजस्ता विषयमा केन्द्रित छन्, जसले विद्यार्थी तहकै अनुसन्धानलाई सार्वजनिक बहसमा ल्याउने प्रयास गरेको संकेत गर्छ।

सम्मेलनका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले उच्च शिक्षाबाट ठूलो संख्यामा विद्यार्थी विदेशिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै त्यसको मूल कारण पाठ्यक्रम र शैक्षिक संरचनामा रहेको बताए। उनका अनुसार बदलिँदो समय, प्रविधि र श्रमबजारको आवश्यकतालाई सम्बोधन गर्नेगरी विश्वविद्यालयका पाठ्यक्रम समयानुकूल परिमार्जन नगरेसम्म ‘ब्रेन ड्रेन’ रोक्न कठिन हुनेछ। यो टिप्पणी केवल एक कलेज वा विश्वविद्यालयको विषय नभई समग्र राष्ट्रिय शिक्षा नीतिसँग जोडिएको बहस हो।

प्रकाश गौतमको सहजीकरणमा सम्पन्न प्यानल छलफलले सम्मेलनलाई थप गहिरो बनायो। प्रा. डा. गजेन्द्र शर्मा, सह–प्रा. डा. जीतेन्द्र डंगोल, डा. महेन्द्र सापकोटा, डा. सुनिल चित्रकार र गोमा तिवारीले व्यापार, समाज र प्रविधिको अन्तरसम्बन्धबारे आफ्ना धारणा राखे। वक्ताहरूले कृतिम बुद्धिमत्ता (AI) ले सिर्जना गरेका अवसर र जोखिमलाई सन्तुलित रूपमा बुझ्नुपर्ने, प्रविधिलाई केवल प्रयोगको स्तरमा होइन, आलोचनात्मक सोच र नैतिकतासँग जोडेर प्रयोग गर्नुपर्नेमा जोड दिए। साथै, अनुसन्धानलाई कागजी अभ्यासमा सीमित नराखी व्यावहारिक, तथ्यमा आधारित र बजारसँग जोडिएको बनाउनुपर्ने सुझाव पनि प्रस्तुत भयो।

कलेजका भाइस प्रिन्सिपल कमल केसीका अनुसार नेस्फिल्ड इन्टरनेशनल कलेजले सन् २०२५ मा विश्वविद्यालय अनुसन्धान आयोगबाट QAA (गुणस्तर सुनिश्चितता तथा प्रत्यायन) प्राप्त गरेको हो। कलेजले अघिल्लो वर्ष पनि राष्ट्रिय सम्मेलन आयोजना गरेको थियाे । उक्त कलेजले स्थापना कालदेखि नै अनुसन्धान जर्नल प्रकाशन गर्दै आएको दाबी गरेकाे छ। यसले निजी कलेजहरू पनि अनुसन्धानमुखी शैक्षिक संस्कृतितर्फ अघि बढ्न सक्छन् भन्ने सन्देश दिन खोजेको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर