काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) का लागि पुस मसान्तभित्र परीक्षा केन्द्र निर्धारण गर्न देशभरका शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले पत्राचार गर्दै परीक्षा केन्द्र तोकी माघको पहिलो साताभित्र बोर्डलाई विवरण पठाउन आग्रह गरेका छन् । चैतको पहिलो साताबाट एसईई परीक्षा सञ्चालन गर्ने कार्यतालिका रहेको बोर्डले जनाएको छ ।
पछिल्ला वर्षहरूमा परीक्षा केन्द्र निर्धारण, हाजिरी व्यवस्थापन तथा उत्तरपुस्तिका व्यवस्थापनमा देखिएका त्रुटिका कारण नतिजा प्रकाशनमा ढिलाइ हुनुका साथै केही परीक्षार्थीको नतिजा स्थगित हुन पुगेको भन्दै यसपटक परीक्षा केन्द्र निर्धारण गर्दा निर्देशिका कडाइका साथ लागू गर्न बोर्डले आग्रह गरेको छ ।
निर्देशनअनुसार दुर्गम तथा हिमाली क्षेत्रमा न्यूनतम १५०, पहाडी क्षेत्रमा २५० र तराई तथा उपत्यकामा ३०० भन्दा कम र ४०० भन्दा बढी नहुने गरी परीक्षा केन्द्र कायम गर्नुपर्नेछ । तोकिएको मापदण्डभन्दा कम विद्यार्थी संख्यामा केन्द्र कायम गरिए बजेट उपलब्ध नहुने बोर्डले स्पष्ट पारेको छ ।
देशभर करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुने अनुमान छ । सहरी क्षेत्र, काठमाडौं उपत्यका, तराई तथा भित्री मधेशमा हरेक वर्ष एउटै विद्यालयमा केन्द्र नपर्ने व्यवस्था गर्न तथा एउटै विद्यालयका विद्यार्थी मात्र रहने गरी केन्द्र कायम नगर्न निर्देशन दिइएको छ । कम्तीमा दुई वा सोभन्दा बढी विद्यालयका विद्यार्थी सहभागी हुने गरी केन्द्र निर्धारण गर्नुपर्ने उल्लेख छ ।
विद्यार्थीको पहुँच र सुविधा, परीक्षा मर्यादा तथा निष्पक्षता सुनिश्चित हुने अवस्था भए तोकिएको विद्यार्थी संख्या कायम रहने गरी स्थानीय पालिकागत रूपमा पनि केन्द्र निर्धारण गर्न सकिने बोर्डले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला परीक्षा समितिले अन्तिम रूपमा परीक्षा केन्द्र तोक्ने व्यवस्था रहेको छ ।


