- जगत वाशिष्ठ
काठमाडौं । विगतका वर्षहरूमा एसईई परीक्षाका क्रममा देखिएका अव्यवस्था, अत्यधिक परीक्षार्थीको चाप र व्यवस्थापन कमजोरीका कारण विद्यार्थीहरू समस्यामा परेपछि यस वर्ष त्यस्ता अवस्था दोहोरिन नदिन परीक्षा केन्द्र पुनःसम्बन्धनको तयारी सुरु गरिएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंले सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूलाई एसईई परीक्षा केन्द्र पुनःसम्बन्धनका लागि औपचारिक रूपमा निवेदन दिन आग्रह गरेको हो। इकाई प्रमुख डा. समन्तमणि अाचार्यले एक सूचना जारी गर्दै काठमाडौंका सबै माध्यमिक विद्यालयहरुलाई विगतमा ताेकिएका केन्द्र सम्बन्धि कुनै गुनासाे भए निवेदन दिन अाग्रह गरेका छन् ।
गत वर्षहरूमा एउटै परीक्षा केन्द्रमा अत्यधिक परीक्षार्थी राखिँदा परीक्षा सञ्चालनमा ढिलाइ, बसाइ व्यवस्थापन कमजोर हुनु, शौचालय, खानेपानी तथा सुरक्षा व्यवस्थामा समस्या देखिएको थियो। कतिपय केन्द्रमा टाढाबाट आएका विद्यार्थीहरू समयमै परीक्षा कक्षमा पुग्न नसकेको गुनासो समेत आएका थिए।
यस्तै, केही विद्यालयहरूमा भौतिक संरचना पर्याप्त नहुँदा परीक्षा सञ्चालन चुनौतीपूर्ण बनेको विगतको अनुभवका आधारमा यस वर्ष समयमै केन्द्र व्यवस्थापन सुधार गर्न पहल गरिएको इकाइले जनाएको छ।
इकाइले परीक्षा केन्द्र परिवर्तन आवश्यक देखिएका विद्यालयलाई ठोस आधार र प्रमाणसहित यथाशीघ्र परीक्षा शाखामा निवेदन पेश गर्न अनुरोध गरेको छ। समयमै प्राप्त निवेदनका आधारमा अध्ययन गरी परीक्षा केन्द्र व्यवस्थापनलाई व्यवस्थित बनाइने जनाइएको छ।


