राेल्पा । खेलकुद कार्यक्रम सकेर घरतर्फ फर्किरहेका रोल्पाका विद्यार्थीहरू बोकेको जीप दुर्घटनामा परेपछि दुई बालबालिकाको ज्यान गएको छ भने अन्य नौ जना घाइते भएका छन्।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी विद्यार्थी लिएर सुनछहरी गाउँपालिका–१ गामखोलाको सेरमबाट वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग१ज ६६६६ नम्बरको बोलेरो जीप गएराति दुर्घटनाग्रस्त भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा १२ वर्षीया दीपा पुन र १२ वर्षीय सुनिल विकको घटनास्थलमै मृत्यु भएको छ। दुवै मृतक नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन्।
दुर्घटनामा परी १५ वर्षीय हिमाल विक, १२ वर्षीया अमृता पुन, १४ वर्षीया जमुना विक, २४ वर्षीया अस्मिता विक, १६ वर्षीया पवित्रा पुन, १७ वर्षीय शनि विक, १२ वर्षीया विपना घर्ती मगर, १५ वर्षीय किसन घर्ती मगर र १५ वर्षीया हस्तिरा विक घाइते भएका छन्।
घाइतेहरूको अवस्था जटिल भएपछि प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।


