अछाम । ढकारी गाउँपालिकामा खेलकुदको महत्व र विद्यार्थीहरूको उत्साहलाई प्रोत्साहन गर्न अनौठो पहल गरिएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रथम हुने विद्यालयलाई उपहारस्वरूप दुई कोठे पक्की भवन दिने घोषणा गरिएको छ।
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउदले बिहीबार उद्घाटन समारोहमा बताएअनुसार, खेलकुद र खेलाडीको क्षमता विकासका लागि यस प्रकारको पहलकदमी आवश्यक रहेको छ। चार दिनसम्म चल्ने अन्तरविद्यालयस्तरीय १६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बुडासैन खेलमैदानमा सुरु भएको छ।
ढकारी गाउँपालिकाभित्रका नौ विद्यालयका २१० जना छात्र र २०७ जना छात्रा गरी कुल ४१७ खेलाडीले सहभागिता जनाएका छन्। उनीहरूले भलिबलसहित हाइजम्प, लङ्जम्प, त्रिपल जम्प, सटपुट, र विभिन्न दूरीका दौड ९१००–३००० मिटर०मा प्रतिस्पर्धा गर्नेछन्। खेल प्रशिक्षक कमलबहादुर बुढाका अनुसार, चार दिनमा कुल ३० प्रतिस्पर्धात्मक इभेन्ट आयोजना गरिनेछ।
युवा तथा खेलकुद विकास समितिका अध्यक्ष टंकबहादुर साउदले भने, “यस प्रतियोगिताले उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग पुग्नेछ र भविष्यमा खेल क्षेत्रको विकासमा थप पहल गरिनेछ।” प्रतियोगिताको समापन यही पुस २७ गते हुनेछ।


