काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकको आर्थिक अवस्था सुधार नआएसम्म आफू मन्त्रीको हैसियतमा कुनै पनि विदेश भ्रमण नगर्ने स्पष्ट अडान लिएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले वैदेशिक भ्रमणले मात्र देशको अर्थतन्त्र मजबुत नहुने तर्क प्रस्तुत गरेका छन्। उनले यसअघि आएका तीन अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता नजनाएको स्मरण गराउँदै हाल प्राप्त थप दुईवटा निमन्त्रणामा पनि नजाने निर्णय गरेको जानकारी दिएका छन्।
मन्त्री पुनका अनुसार कमजोर अर्थतन्त्रको अवस्थामा प्रधानमन्त्री वा अर्थमन्त्री जो भए पनि उल्लेखनीय उपलब्धि हासिल गर्न कठिन हुन्छ। “अर्थतन्त्र नै सबल नभएसम्म कुनै पनि योजना कार्यान्वयन सम्भव हुँदैन, किनकि विकासका लागि पर्याप्त स्रोत आवश्यक पर्छ,” उनले उल्लेख गर्दै विदेश भ्रमणले मात्रै अर्थतन्त्र निर्माण हुन्छ रु भन्ने प्रश्नसमेत उठाएका छन्।
उनले इजरायलको जेरुसेलममा आगामी फेब्रुअरी ४ देखि ६ सम्म हुने मन्त्रिस्तरीय बैठक तथा साउदी अरेबियामा मे ३ र ४ मा आयोजना हुने ‘ह्युम्यान क्यापासिटी इनिसियटिभ’ कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा आएको जानकारी पनि दिएका छन्। ती कार्यक्रमका निमन्त्रणापत्र उनले सार्वजनिक गरेका छन्।
देशको आर्थिक यथार्थलाई केन्द्रमा राख्दै निर्णय गरिएको उल्लेख गर्दै मन्त्री पुनले अहिले प्राथमिकता भ्रमणभन्दा पनि आन्तरिक सुधार र आर्थिक सबलीकरण नै भएको बताएका छन्।


