EduPress
'

कक्षा १२ को प्रमाणपत्रमा अब परीक्षा नियन्त्रकको पनि हस्ताक्षर राखिने

Author Image
शनिवार, पौष २५, २०८२
National-Examination-Board
Text Size:

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई प्रदान गरिने प्रमाणपत्र प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ । अबदेखि विद्यार्थीलाई दिइने फोटोसहितको प्रमाणपत्रमा बोर्डका अध्यक्षसँगै परीक्षा नियन्त्रकको समेत हस्ताक्षर रहने बाेर्डले जनाएकाे छ । यसले प्रमाणपत्रको कानुनी तथा प्रशासनिक विश्वसनीयता थप सुदृढ हुने बोर्डको अपेक्षा छ ।

हालसम्म राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने कक्षा १२ को वार्षिक तथा मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको करिब छ महिनापछि उपलब्ध गराइने प्रमाणपत्रमा बोर्ड अध्यक्षको मात्र हस्ताक्षर रहने व्यवस्था थियो । तर, मिति २०८२ साल पुस १३ गतेदेखि लागू हुने गरी उक्त व्यवस्थामा संशोधन गरिएको हो । अबदेखि प्रमाणपत्रमा परीक्षा नियन्त्रकको हस्ताक्षर र अध्यक्ष (अध्यक्षको अनुपस्थितिमा उपाध्यक्ष) को हस्ताक्षरित छाप रहनेछ ।

बोर्डका अनुसार यो निर्णयले प्रमाणपत्र जारी प्रक्रियामा थप उत्तरदायित्व सुनिश्चित गर्नेछ । परीक्षा नियन्त्रक परीक्षा सञ्चालन, नतिजा प्रशोधन र अभिलेख व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको पद भएकाले उनको हस्ताक्षर समावेश हुँदा प्रमाणपत्रको आधिकारिकता र पारदर्शिता बढ्ने विश्वास गरिएको छ ।

शैक्षिक क्षेत्रका जानकारहरूका अनुसार पछिल्लो समय प्रमाणपत्र नक्कली, दुरुपयोग तथा प्रमाणीकरणसम्बन्धी प्रश्नहरू उठ्ने क्रम बढ्दै गएको सन्दर्भमा बोर्डको यो निर्णय समयसापेक्ष देखिन्छ । दुई तहको हस्ताक्षरले प्रमाणपत्रको विश्वसनीयता मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली शैक्षिक कागजातको स्वीकार्यता बलियो बनाउने अपेक्षा गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउँदै यो नयाँ व्यवस्था अनुसार नै अबका प्रमाणपत्र जारी गरिने स्पष्ट पारेको छ । यस निर्णयले विद्यार्थी, शैक्षिक संस्था तथा नियामक निकायबीच विश्वासको आधार थप मजबुत बनाउने संकेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर