- जगत वाशिष्ठ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिले अवधारणा पत्र, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम सार्वजनिक गरेको छ ।
शिक्षा ऐन, २०२८ तथा सम्बन्धित कार्यविधि अनुसार गठित समितिले कार्य अनुभव र शैक्षिक योग्यताका आधारमा ७ जना उम्मेदवारलाई छनोट गरी प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो ।
सार्वजनिक तालिका अनुसार उम्मेदवारहरूको अवधारणा पत्र तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण २०८२ माघ ८ गते र अन्तर्वार्ता २०८२ माघ ९ गते सञ्चालन हुनेछ । कार्यक्रम लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा आयोजना हुने जनाइएको छ ।
प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुने उम्मेदवारहरूमा डा. कृष्णप्रसाद आचार्य, डा. जगत कृष्ण पौडेल, श्री पुष्पराज जोशी, प्रा. डा. बाबुराम सुनार, डा. राजेन्द्र कुमार पौडेल, डा. राजेन्द्र प्रसाद चापागाईं र डा. रामचन्द्र पाण्डे रहेका छन् ।
समितिले उम्मेदवारहरूलाई आवेदनका साथ पेश गरेका सबै कागजातको प्रतिलिपि सहित प्रस्तुतीकरण तथा अन्तर्वार्ताको निर्धारित समयभन्दा कम्तीमा एक घण्टा अगाडि उपस्थित हुन निर्देशन दिएको छ ।
यस्तै, तोकिएको दिन सार्वजनिक बिदा परेमा समेत कार्यक्रम यथावत सञ्चालन हुने जानकारी पनि सूचनामा उल्लेख गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको नेतृत्व चयन प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन अवधारणा पत्र तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणलाई महत्त्वपूर्ण मानिएको छ ।



