EduPress
'

एसईईमा मौकासहित ८० प्रतिशत विद्यार्थी सफल

Author Image
बुधवार, असोज १५, २०८२
Text Size:

काठमाडौँ  । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (मौका) परीक्षाको नतिजा शनिबार सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले दसैँअघि नै नतिजा सार्वजनिक गर्ने तयारीअनुसार सार्वजनिक बिदाको दिन भए पनि नतिजा प्रकाशन गरेको हो।

बोर्डका अनुसार यस वर्ष ग्रेड वृद्धि परीक्षामा एक लाख ४३ हजार २५७ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ८३ हजार ५६३ जना विद्यार्थी उत्तीर्ण भएका छन्, जसले ५८.३३ प्रतिशत सफलता दर देखाउँछ।

बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार मौका परीक्षामा सबैभन्दा उच्च जिपिए ३.६० देखि ४ सम्मका २६ जना विद्यार्थीले ल्याएका छन्। त्यस्तै, १.६० देखि २ जिपिएसम्मका ४५ जना विद्यार्थी रहेका छन्। सबैभन्दा ठूलो संख्या— ५१ हजार ४०३ विद्यार्थी— जिपिए २.४० देखि २.८० समूहमा परेका छन्।

यसअघि नियमित एसईई परीक्षाको नतिजा असार १३ गते सार्वजनिक गरिएको थियो, जसमा चार लाख ३८ हजार ८९६ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ६१.८१ प्रतिशत अर्थात् दुई लाख ७१ हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका थिए।

नियमित र ग्रेड वृद्धि दुवै परीक्षाको परिणाम जोड्दा यस वर्ष एसईईको समग्र उत्तीर्ण दर ८०.८५ प्रतिशत पुगेको बोर्डले जनाएको छ। यसअनुसार जम्मा परीक्षार्थीमध्ये २० प्रतिशत विद्यार्थी मात्रै कक्षा ११ को पढाइबाट वञ्चित भएका छन्।

अहिले देशभरका अधिकांश विद्यालयहरूले कक्षा ११ को पढाइ सुरु गरी पहिलो त्रैमासिक परीक्षा समेत सम्पन्न गरिसकेका छन्। मौका परीक्षाबाट सफल भएका विद्यार्थीहरूले भने अब छठ पर्वपछि मात्रै कक्षा ११ मा भर्ना पाउने छन्।

Views: 5

प्रतिक्रिया

सम्बन्धित खबर