EduPress
'

प्राकृतिक सिकाइः जन्मजात जिज्ञासाको शक्ति

Author Image
आइतवार, असोज २६, २०८२
Text Size:
  • संजीप घिमिरे

बालबालिकाहरू स्वाभाविक रूपमा जिज्ञासु हुन्छन । उनीहरू संसार बुझ्न चाहन्छन, नयाँ कुरा सिक्न रुचाउँछन, र प्रश्न गर्न मन पराउँछन । बालबालिकाको जिज्ञासा प्राकृतिक रूपमा नै तीव्र हुन्छ, यदि तिनीहरूलाई उपयुक्त वातावरण, सही स्रोतहरू, र स्वतन्त्रताको अवसर दिइयो भने, उनीहरू आफ्नै सिकाइ प्रक्रियालाई निर्देशित गर्न सक्षम हुन्छन् । उनीहरू स्वतः अनुसन्धान र खोजी प्रक्रियामा संलग्न हुन्छन । खेल, अन्वेषण, र प्रयोगात्मक सिकाइ जस्ता विधिहरूले उनीहरूको जिज्ञासालाई अझ सशक्त बनाउँछ ।

वर्तमान शिक्षा प्रणालीले ज्ञानको हस्तान्तरणमा भूमिका खेले पनि यसका सीमितताहरूले विद्यार्थीहरूको समग्र विकासमा बाधा पु¥याइरहेको छ । विशेष गरी, कठोर पाठ्यक्रम, परीक्षामुखी मानसिकता, र व्यावहारिक सीपको अभावका कारण शिक्षा प्रणालीले वास्तविक जीवनसँग सम्बन्धित ज्ञान दिन सकिरहेको छैन । अतः शिक्षा प्रणालीलाई लचिलो, समावेशी, र व्यावहारिक बनाउनु आवश्यक छ । सृजनात्मकता, आलोचनात्मक सोच, र जीवनोपयोगी सीपलाई बढावा दिने शिक्षा पद्धति अपनाए मात्र विद्यार्थीहरूलाई भविष्यको चुनौतीहरूको सामना गर्न सक्षम बनाउन सकिन्छ ।

समस्याका जड

वर्तमान शिक्षा प्रणाली निश्चित संरचनात्मक प्र्रणालीमा आधारित छ । निश्चित पाठ्यक्रम, परीक्षा, र समयतालिकामा आधारित रहेको छ । यस प्रणालीको उद्देश्य विद्यार्थीलाई एक निश्चित संरचनामा सिकाउनु हो, जसमा उनीहरूले क्रमबद्ध रूपमा ज्ञान आर्जन गर्नुपर्ने हुन्छ । यो प्रणाली नियन्त्रित पाठ्यक्रमअन्तर्गत अगाडि बढ्छ र विद्यार्थीको प्रगति मापन गर्न परीक्षा अनिवार्य उपकरणको रूपमा प्रयोग गरिन्छ ।

आधुनिक शिक्षा प्रणालीमा पाठ्यक्रम पहिले नै निश्चित गरिएको हुन्छ, जसले विद्यार्थीको व्यक्तिगत रुचि, क्षमतामा आधारित लचिलोपनलाई सीमित बनाउँछ । प्रत्येक विद्यार्थीको सिकाइ शैली र गहिराइ फरक हुन्छ, तर तोकिएको पाठ्यक्रमले सबैलाई एउटै रूपमा सिक्न बाध्य बनाउँछ । यसले विद्यार्थीहरूलाई अन्वेषणशील ९भहउयिचबतयचथ० सोचको अवसर कम प्रदान गर्छ ।

वर्तमान शिक्षा प्रणालीमा परीक्षालाई विद्यार्थीको क्षमता मापन गर्ने प्रमुख आधार बनाइएको छ, जसका कारण विद्यार्थीहरू सिकाइको वास्तविक उद्देश्य बिर्सेर नम्बर प्राप्तिमा केन्द्रित हुन्छन् । जसले परीक्षामा बढी नम्बर ल्याउछन, उनीहरु उत्कृष्ट ठानिन्छन् र कम नम्बर ल्याउनेलाई कमजोर भनेर मुल्याङ्कन गरिन्छ । सिकाइलाई बुझ्नुभन्दा बढी याद गर्नुपर्ने बाध्यतामा उनीहरु रहन्छन् । वास्तवमा यस किसिमको रटानी अभ्यासले विद्यार्थीको सिर्जनात्मक र आलोचनात्मक सोचलाई कमजोर बनाउँछ । परीक्षामा राम्रो नतिजा ल्याउन नसक्ने विद्यार्थीहरूलाई कमजोर ठान्ने प्रवृत्तिले उनीहरूको आत्मविश्वास घटाउँछ ।

वर्तमान शिक्षा एक निश्चित समयतालिका र कठोर संरचनामा आधारित छ । यो भनेको एक निश्चित समयमा तोकिएको पाठ्यक्रम सिकाउने विधि हो । यसले समयको व्यवस्थापनमा सहयोग पु¥याए पनि, विद्यार्थीहरूलाई एउटा ढाँचामा मात्र सीमित बनाउँछ । समय तालिकाभन्दा बाहिर गएर सिक्न चाहने वा आफ्नो रुचि अनुसार अनुसन्धान गर्न चाहने विद्यार्थीलाई यो प्रणालीले पर्याप्त अवसर दिँदैन ।

आजको विश्वमा प्रविधि, नवीनता, र सीपको महत्व बढ्दै गएको छ । तर, आधुनिक शिक्षा प्रणाली अझै पनि सैद्धान्तिक ज्ञानमा बढी निर्भर रहेको देखिन्छ । व्यावहारिक शिक्षा, समस्या समाधान गर्ने क्षमताको विकास, र जीवनोपयोगी सीपको अभावले गर्दा विद्यार्थीहरू स्नातक भएपछि वास्तविक जीवनमा कठिनाइहरूको सामना गर्न बाध्य हुन्छन् ।

यसरी शिक्षा प्रणालीले विद्यार्थीलाई तोकिएको पाठ्यक्रम अनुसार सिक्न बाध्य बनाउँदा उनीहरूको सिर्जनात्मकता स्वतः सीमित हुन्छ । नयाँ खोज, प्रयोग, वा नवीन विचारलाई प्रश्रय दिने वातावरण अभाव हुँदा विद्यार्थीहरू केवल पाठ्यपुस्तकमा निर्भर रहन्छन । यसले समाजमा नवीन आविष्कार र परिवर्तन ल्याउने क्षमतामा ह्रास आउँछ ।

विज्ञान र प्रविधिको विकास हुँदै गर्दा अहिले प्रविधि तथा नविन खोज मानिसमाथि हावी हुन खोजेको हो कि भन्ने प्रश्न उठेका छन् । कुनै पनि खोज तथा अनुसन्धान मानिसका लागि सहयोगी बन्नुपर्दछ तर त्यसो नभई यदि मानिस दास बन्न गयो भने त्यो दुर्भाग्य हुन्छ । एकातिर कतै मानिस परम्परागत सोचको सिकार भएको पाइन्छ भने अर्कोतिर आधुनिकताको दास । खासगरी शिक्षाको क्षेत्र तथा सिकाई क्रियाकलापमा हेर्ने हो भने एउटा निश्चित सुत्रमा बालबालिकालाई हिड्न बाध्य बनाइएको देखिन्छ । अझ त निर्धारित समय तालिका, पाठ्यक्रम र संरचनामा आम बालबालिकालाई राखेर अघि बढाउने गरिन्छ । बालबालिकाबाट निर्धारित नम्बर खोजेर मुल्याङ्कन गरिन्छ । आजको संसार विविधताले भरिएको छ । प्रत्येक व्यक्तिमा फरक फरक स्वभाव, शैली, क्षमता, कल्पनाशीलता हुन्छ । तर, एउटै निर्धारित संरचना, पाठ्यक्रम र समयतालिका सबैलाई पछ्याउन बाध्य पार्नु कदापी सही हुन्न । यसले सही परिणाम निकाल्न सक्दैन । बरु, यसले विभेद सिर्जना गर्दछ । यसको सट्टा बालबालिकालाई उनीहरुको स्वभाव, शैली र विशेषता वमोजिम प्राकृतिक गुणमा आधारित भई सिकाइ वातावरण निर्माण गर्नु जरुरी छ ।

परम्परागत शिक्षा प्रणाली तोडेर यस किसिमको मानसिकता बनाउन चुनौतीपूर्ण हुन सक्छ । विशेष गरी शैक्षिक उपलब्धि र मापनयोग्य परिणामहरू वा नम्बरलाई उच्च मूल्य दिने समाज र संस्कृतिमा यो अझ चुनौतीपूर्ण हुनसक्छ । बालबालिकाहरूलाई विश्वास गर्नुको अर्थ उनीहरूलाई आफैंले सबै कुरा पत्ता लगाउन छोड्नु होइन । बरु, उचित शैक्षिक वातावरण तयार गर्नु, उनीहरुलाई आवश्यक पर्ने स्रोत साधनहरू जुटाइदिनु, उपयुक्त अवसरहरू सिर्जना गर्नु र एउटा समृद्ध शैक्षिक वातावरण सिर्जना गर्नु हो । विभिन्न किसिमका शैक्षिक सामग्रीहरु, पुस्तकहरू, उपकरणहरू र प्रविधि जुटाएर बालबालिकालाई त्यसमा पहुँच प्रदान गर्नु सही हुन्छ । बालबालिकाहरूलाई बेलाबेलामा उचित सल्लाहकार र विशेषज्ञहरूसँग जोड्ने र आवश्यक पर्दा प्रोत्साहन र मार्गदर्शन प्रदान गरेमा त्यसले सही वातावरण निर्माण गर्न भूमिका खेल्छ । बच्चाहरूलाई विश्वास गर्नु भनेको उनीहरूको अद्वितीय सिकाइ शैली र गतिलाई सम्मान गर्नु पनि हो । केही बच्चाहरूले महिनौंसम्म एउटै विषयमा गहिरो रूपमा डुब्न सक्छन् । आफ्ना रुचीका विषयमा निरन्तर उड्न सक्छन् ।

प्राकृतिक सिकाइ भनेको के हो ?

प्राकृतिक सिकाइ, जसलाई स्वनिर्देशित सिकाइ वा अनुभवजन्य सिकाइ पनि भनिन्छ, यस्तो प्रक्रिया हो जसमा बालबालिकाले आफ्नो रुचिका आधारमा ज्ञान र सीपहरू प्राप्त गर्छन । यसले बालबालिकाको जन्मजात जिज्ञासालाई केन्द्रमा राख्छ र उनीहरूलाई आफ्नै गतिमा सिक्न दिन्छ । यस अवधारणामा कठोर रटान गर्ने वा कण्ठस्थापन गर्ने र मानकीकृत मूल्याङ्नभन्दा अनुभवजन्य सिकाइ, खेल, र वास्तविक संसारका समस्याहरू समाधान गर्ने क्षमतालाई बढी महत्व दिइन्छ । प्राकृतिक सिकाइ विश्वासमा आधारित छ—बालबालिकाहरू जन्मजात सिक्न चाहने जिज्ञासु र उनीहरू आफ्नो सिकाइ प्रक्रियामा अर्थपूर्ण छनौट गर्न आफै सक्षम छन भन्ने विश्वास ।

प्राकृतिक सिकाइ पछाडिको विज्ञान

बाल विकास र स्नायु विज्ञानका अध्ययनहरूले बच्चाहरू प्राकृतिक अन्वेषक हुन भन्ने कुरालाई पुष्टि गरिसकेको छ । बाल मनोविज्ञानका विज्ञहरुका अनुसार, बच्चाहरूले आफ्नो वरपरको वातावरणसँग अन्तरक्रिया गरेर ज्ञान निर्माण गर्छन् । यस क्षेत्रका विज्ञहरुले बालबालिकाको सिकाइ प्रक्रियालाई चरणबद्ध रूपमा वर्णन गरेका छन, जसमा उनीहरूले अनुभवहरूबाट सिक्दै जान्छन् । प्रसिद्ध मनोवैज्ञानिक लेभ भिगोत्स्की संज्ञानात्मक विकासमा सामाजिक अन्तरक्रिया र खेलको महत्वलाई निकै जोड दिन्छन् । उनले बालबालिकाको सिकाइमा सामाजिक वातावरण र अधिक ज्ञानवान व्यक्तिहरूबाट सिकाइको भूमिकालाई महत्वपूर्ण मानेका छन् ।

स्नायु विज्ञानले पनि प्रमाणित गरेको छ कि जब बालबालिकाहरू आफ्नै रुचीलाई पछ्याउन पाउँछन, उनीहरूको मस्तिष्कले डोपामाइन भन्ने तत्व उत्पादन गर्छ । मस्तिष्कमा उत्पादन हुने डोपामाइनले बा(लबालिकाको सिकाइलाई थप प्रभावकारी बनाउँछ । डोपामाइन एक न्यूरोट्रान्समिटर हो जसले मानिसमा प्रेरणा र आनन्दको अनुभूतिलाई बढाउँछ । यसले बालबालिकालाई सिकाइ प्रक्रियामा रमाइलो र आकर्षक बनाउँछ । अनुसन्धानहरूले देखाएको छ कि स्वनिर्देशित सिकाइमा संलग्न बालबालिकाहरूले आलोचनात्मक सोच, रचनात्मकता, र आत्मनिर्भरता जस्ता महत्वपूर्ण सीपहरू विकास गर्छन ।

प्राकृतिक सिकाइमा विश्वासको भूमिका

हरेक अभिभावकले आफ्ना बालबालिकामा आफूले सोचेको जस्तो विकास होस् भन्ने चाहन्छन् । उनीहरुले त्यसका लागि नियन्त्रित वातावरण निर्माण गर्दछन् । सिक्ने कुरामा बालबालिकालाई स्वतन्त्र छोड्न कुनै पनि आमाबाबु तयार हुँदैनन् । अझ त विद्यालयको शिक्षकहरु झनै तयार हुँदैनन । शिक्षकहरुलाई पनि निर्धारित पाठ्यक्रम वा विधि पछ्याउनु बाध्यता हुन्छ । बालबालिकालाई सिक्न स्वतन्त्रता दिने निर्णय आमाबाबु र शिक्षकहरूका लागि चुनौतीपूर्ण पनि हुन सक्छ । विशेष गरी परम्परागत शैक्षिक उपलब्धिहरूमा जोड दिने संस्कृतिमा यो अझ सम्भव मानिदैन ।

तर, प्राकृतिक सिकाइको अर्थ बालबालिकालाई बिना कुनै मार्गदर्शन छोड्ने भनेको कदापी हुँदै होइन । बरु, उनीहरूलाई उचित स्रोतहरू, अवसरहरू, र मार्गदर्शन प्रदान गरेर उनीहरूको स्वाभाविक सिकाइ प्रक्रियालाई सघाउनु हो । बालबालिकालाई विश्वास गर्नु भनेको उनीहरूको अद्वितीय सिकाइ शैली र गतिलाई सम्मान गर्नु पनि हो । केही बच्चाहरू विशेष रूपमा एउटै विषयमा गहिराइमा अध्ययन गर्न इच्छुक हुन्छन, भने अरूले फरक फरक विषयहरू अन्वेषण गर्न रुचाउँछन् । दुबै दृष्टिकोणहरू मान्य छन र सिकाइको विविधतालाई झल्काउँछन् ।

प्राकृतिक सिकाइका फाइदाहरू

१. प्राकृतिक सिकाइले आन्तरिक प्रेरणालाई बढावा दिन्छ । जब बालबालिकाहरूलाई आफ्नो रुचिअनुसार सिक्न दिइन्छ, तिनीहरूले सिकाइलाई आनन्ददायक अनुभवको रूपमा लिन्छन । यसले उनीहरूमा आन्तरिक प्रेरणा विकास गर्छ, जसले उनीहरूलाई आफैले सिक्न प्रोत्साहित गर्छ ।

२. परम्परागत शिक्षाले बालबालिकालाई प्रायः निश्चित उत्तरहरू प्रदान गर्न प्राथमिकता दिन्छ । तर, प्राकृतिक सिकाइले बालबालिकामा रचनात्मकता र नवीनतालाई प्रोत्साहन गर्दछ । अन्वेषण र नवाचारलाई प्रेरित गर्छ । बालबालिकाहरूले आफ्नै तरिकाले समस्याहरू समाधान गर्न सिक्छन, जसले उनीहरूको रचनात्मकता र नवीनतालाई बढाउँछ ।

३. यसले विद्यार्थीमा आत्मविश्वास जगाउँछ र स्वतन्त्रतापूर्ण सोच्ने वातावरण निर्माण गर्दछ । आफ्नो सिकाइ प्रक्रियालाई आफै निर्णय गर्न पाउँदा बालबालिकाहरू अधिक आत्मनिर्भर र आत्मविश्वासी बन्छन् । उनीहरूले आफ्नो सिकाइको जिम्मेवारी लिन्छन, जसले उनीहरूमा आत्मविश्वास निर्माण गर्छ ।

४. प्राकृतिक सिकाईले विद्यार्थीको आजीवन सिकाइलाई बढावा दिन्छ । प्राकृतिक रूपमा सिक्न प्रेरित बालबालिकाहरू जीवनभर नयाँ ज्ञान प्राप्त गर्न उत्सुक रहन्छन् । यसले उनीहरूलाई आजीवन सिकाइको मार्गमा अगाडि बढाउँछ ।

५. प्राकृतिक सिकाईले बालबालिकामा कुनै हालतमा पढ्नै पर्दछ, वा सिक्नै पर्दछ, नसिकी हुँदैन वा जसरी पनि सिक्नुपर्दछ भन्ने अनावश्यक तनावलाई कम गर्दछ । परम्परागत विद्यालय शिक्षामा हुने कडा समयतालिका र मूल्याङ्कनले बालबालिकालाई मानसिक तनाव दिन सक्छ, तर प्राकृतिक सिकाइ अधिक लचिलो र बच्चाअनुकूल हुन्छ । यसले बालबालिकालाई तनावमुक्त वातावरणमा सिक्न मद्दत गर्छ ।

गलत धारणा र चुनौतीहरु

प्राकृतिक सिकाइबारे केही गलत धारणाहरू पनि छन् । एउटा गलत धारणा यो छ कि प्राकृतिक सिकाइले अनुशासनहीनता वा अधुरो ज्ञान सिर्जना गर्छ । तर, अनुसन्धानले देखाएको छ कि स्वनिर्देशित सिकाइमा सम्लग्न बालबालिकाहरू प्रायः गहिरो र व्यापक ज्ञान विकास गर्छन् । अर्काे चुनौती भनेको परम्परागत शैक्षिक मान्यताहरू पालना गर्न व्यापक सामाजिक दबाब हुन्छ । अभिभावक र शिक्षकहरूले संरचनात्मक विद्यालय शिक्षा नै सफलताको एक मात्र माध्यम हो भन्ने धारणा राख्दछन् । उनीहरु बालबालिकाहरुलाई स्वतस्फूर्त रुपमा खुल्ला छाड्न सक्दै सक्दैनन् । जसले बालबालिकाको पाकृतिक स्वभाव वमोजिमको सिकाई राख्नेहरूबाट आलोचना वा शङ्का सामना गर्न सक्छन् । यी अवरोधहरू पार गर्न, मानसिकतामा परिवर्तन ल्याउनु आवश्यक छ ।

प्राकृतिक सिकाइलाई कसरी व्यवस्थित गर्ने ?

१. समृद्ध सिकाइ वातावरण सिर्जनाः बालबालिकामा जिज्ञासा र रचनात्मकता जगाउने पुस्तकहरू, उपकरणहरू, सामग्रीहरू र अनुभवहरूमा पहुँच प्रदान गर्नसके उनीहरुमा उत्साह र उर्जा अझ बढ्छ । घर वा कक्षाकोठालाई पुस्तकहरू, विज्ञान किटहरू, कला सामग्रीहरू, संगीत वाद्ययन्त्रहरू, र अन्य स्रोतहरूले भरिपूर्ण बनाउन सके पाकृतिक सिकाइको वातावरण निर्माण गर्न सकिन्छ । सङ्ग्रहालयहरू र प्राकृतिक भण्डारहरूको भ्रमण गराउन सके यसले उनीहरुको सोचाइमा विविधता ल्याउन सकिन्छ । यसले बालबालिकालाई आफ्नो रुचिअनुसार सिक्न मद्दत गर्छ ।

२ बालबालिकाको रुचीलाई बुझ्नुः बालबालिकाको रुची केमा केन्द्रित छ भनेर बुझि तिनलाई त्यस्ता अवसरहरू प्रदान गर्नुपर्दछ । उनीहरूले आफ्नो सिकाइ प्रक्रियामा आफै नेतृत्व गर्न दिनुपर्दछ ।

३. खेल र अन्वेषणलाई प्रोत्साहनः खेल सिकाइको एउटा प्रभावकारी तरिका मध्ये एक हो, त्यसैले असंरचित खेलको समय सुनिश्चित गर्नु राम्रो हुन्छ । खेलले बालबालिकालाई सिर्जनात्मक रूपमा सिक्न मद्दत गर्छ । खेल मार्फत, बच्चाहरूले सामाजिक सीपहरू, भावनात्मक बुद्धिमत्ता र संज्ञानात्मक क्षमता विकास गर्छन् । त्यसैगरी बालबालिकाले आफ्नै तरिकाले अन्वेषण गर्न पाउने वातावरण सिर्जना गर्नुपर्दछ । आवश्यक पर्दा मात्र हस्तक्षेप गर्नुपर्दछ अन्यथा उनीहरूलाई आफ्नो सिकाइ प्रक्रियामा स्वतन्त्रता दिनुपर्दछ ।

४. निर्देशन दिनुको सट्टा मार्गदर्शक बन्नुः आजका शैक्षिक सिकाइको अभ्यास बढी निर्देशनात्मक छ । बालबालिकालाई यो पढ, यो गर, यो नपढ, यो नगर भनेर कठोर निर्देशन दिने गरिन्छ । त्यतिमात्र नभई उनीहरुलाई यसरी पढ भनेर समेत निर्धारण गरिएको हुन्छ । उनीहरुलाई धेरै बोल्नुहुन्न, धेरै उफ्रनुहुन्न, धेरै सोच्नुहुन्न, धेरै कुद्नु हुन्नसम्म भनेर भनिन्छ । यस्तो अत्यधिक निर्देशनात्मक गतिविधिहरूको सट्टा असंरचित, कल्पनाशीलतालाई प्रोत्साहन गर्नुपर्दछ । वास्तवमा यसले बालबालिकाको सिकाइ प्रक्रियालाई झन सङ्कूचन गर्छ । यो त बालबालिकालाई एउटा बन्धनमा बाँधेको जस्तो हुन्छ । बालबालिकाले के र कसरी सिक्ने भनेर निर्देशन दिनुको सट्टा, सहजकर्ताको रूपमा काम गर्नुपर्दछ । बालबालिकाको अन्तरहृदयको रुची वमोजिमको सिकाइ भयो भने त्यो सिकाइ प्रभावकारी हुन्छ ।

५. समुदायसँग जोडिनुः स्वनिर्देशित सिकाइका बारेमा जानकार व्यक्तिहरूसँग सम्बन्ध स्थापित गरेर उनीहरुसँग आफ्ना बुझाई, विचार र अनुभव साटासाट गर्दा पनि तपाईमा कन्फिडेन्स पैदा हुन्छ । यसले तपाईंलाई नयाँ विचारहरू र स्रोतहरू प्रदान गर्न सक्छ ।

६. व्यक्तिगत समयरेखाको सम्मान गर्नुहोस्ः प्रत्येक बच्चाले आफ्नै गतिमा सिक्छ । अधिकांश अभिभावक र शिक्षकहरु बालबालिकालाई एकअर्कोसँग तुलना गर्ने गर्दछन् । साथीहरूसँग तुलना गर्दा उनीहरुमा हिनताबोध हुन्छ र सिकाइलाई दुरुत्साहन गर्दछ । बालबालिकालाई नयाँ सीप सिक्न तथा पढ्न मनमानी समयसीमा लाद्नुहुँदैन । उनीहरुको आफ्नै गति र समय अनुसार सिक्न वा गर्न दिनुपर्दछ । यसले उनीहरुलाई अझ बढी सिक्न प्रेरित गर्दछ ।

बालबालिकालाई प्राकृतिक सिकाइमा विश्वास गर्नु केवल शैक्षिक दृष्टिकोण मात्र होइन । यो उनीहरूको जन्मजात प्रतिभा र सम्भावनालाई सम्मान गर्ने प्रक्रियासमेत हो । आत्मनिर्भर, रचनात्मक, र जिज्ञासु व्यक्तिहरूको पुस्ता निर्माण गर्न यो दृष्टिकोण प्रभावकारी साबित हुन सक्छ । जसरी भनिन्छ, बालबालिका भनेका भर्नका लागि भाँडा होइनन्, उनीहरु बाल्नका लागि बत्ती हुन् । उनीहरूलाई सिक्न स्वतन्त्रता दिएर, हामी उनीहरूको उज्ज्वल भविष्यको लागि मार्ग प्रशस्त गर्न सक्छौं ।

Views: 15

प्रतिक्रिया

सम्बन्धित खबर