- सुदाम प्रसाद गौतम
अध्यक्ष, प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)
आईसीपी काउन्सिल सदस्य
पान गठनको प्रमुख उद्देश्य के हो? यसको स्थापना कहिले र किन गरियो?
Principals Association of Nepal (PAN) को स्थापना २०८० सालमा भएको हो । यसको मूल उद्देश्य भनेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई पेशागत रूपमा सबल, सक्षम र उत्तरदायी बनाउनु हो । पान कुनै राजनीतिक एजेन्डा बोकेको संस्था होइन, यो विशुद्ध रूपमा व्यावसायिक संस्था हो, जसले प्रधानाध्यापकहरूका अधिकार होइन, उनीहरूको दायित्वलाई अघि सार्छ । समाजको परिवर्तन, शिक्षाको गुणस्तर अभिवृद्धि र क्षमतावान नेतृत्व निर्माण हाम्रो प्रमुख लक्ष्य हो । पान हाम्रो मूल मर्म भनेको प्रधानाध्यापकहरूलाई केवल ‘पदधारी’ हैन, ‘परिवर्तनका संवाहक’ बनाउनु हो । हामीले महसुस गर्यौं कि शिक्षा प्रणालीको मेरुदण्ड ठानिएका प्रधानाध्यापकहरू अझै नेतृत्व, क्षमता र नवीन सोचमा सशक्त बन्न बाँकी छ । त्यसैले, पानको प्रमुख उद्देश्य Educate, Empower, and Excel को माध्यमबाट प्रधानाध्यापकहरूको क्षमता विकास गर्दै सामुदायिक विद्यालयलाई Center of Exclleence बनाउने हो ।
पानले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको हितका लागि अहिलेसम्म के–कस्ता कार्यहरू गरिसकेको छ ?
पानले हालसम्म देशभरि थुप्रै व्यावसायिक तालीम, अन्तरक्रिया, गोष्ठी, अध्ययन भ्रमण तथा नेटवर्किङ कार्यक्रमहरू सञ्चालन गरिसकेको छ । हामीले सातवटै प्रदेशमा स्थानीय तहसँग मिलेर केही कार्यक्रम गरेका छौै । यस्ता कार्यक्रमले प्रधानाध्यापकहरूको नेतृत्व क्षमता अभिवृद्धि मात्र होइन, उनीहरूलाई अन्तराष्ट्रिय स्तरको शैक्षिक प्रवृत्तिबारे जान्न र सिक्न समेत सघाउँछ ।
तपाईहरुले जेठ २३ र २४ गते पर्यटकीय नगरी सुन्दर पोखरामा पानको दोस्रो नेशनल समिट गर्दै हुनुहुन्छ । यस समिटको प्रमुख उद्देश्य र महत्व के हो ?
पानको दोस्रो नेशनल समिट ‘Redefining Leadership DimensionsM Pioneering Change for School Exclleence’ भन्ने मूल नाराका साथ आयोजना हुँदैछ । समिटमा एक दर्जनभन्दा बढी शिर्षकमा प्रस्तुतिहरु रहनेछन्, जसबाट प्रधानाध्यापकहरुले साँच्चिकै धेरै कुरा सिक्न सक्नुहुनेछ । सामुदायिक विद्यालयमा भएका केही राम्रा अनुभवहरुको सेयरिङ हुनेछ । यस समिटको मुख्य उद्देश्य शिक्षाको बदलिँदो सन्दर्भमा नेतृत्वको नयाँ परिभाषा तय गर्नु हो । हामी अब प्रधानाध्यापकलाई परम्परागत प्रशासक हैन, स्ट्राटेजिक थिङ्कर, इनोभेटर, र ट्रान्सफर्मेटिभ लिडरको रूपमा विकास गर्न चाहन्छौं । पोखरा समिट केवल भेला होइन, यो विचार–विनिमय, प्रेरणा, र कार्ययोजना निर्माणको महत्वपूर्ण थलो हो । यो एक विचार आदानप्रदानको अवसर हो । भावी कार्यदिशा तय गर्नु हो । यो समिटले सामुदायिक विद्यालय सुधारको नयाँ युगको थालनी गर्ने अपेक्षा लिएको छ । समिटमा हामीले राम्रो काम गर्ने विद्यालय, प्रअ र स्थानीय तहहरुलाई पुरस्कृत र सम्मान गर्दैछौं । त्यसका लागि प्रा.डा.विद्यानाथ कोइरालाको नेतृत्वमा रहेको पाँच सदस्यीय स्वतन्त्र टिमले २५ वटा मापदण्डका आधारमा अध्ययन गरेर काम गरिसकेको छ ।
यो समिटबाट हामी तीनवटा स्पष्ट सन्देश दिन चाहन्छौं — पहिलो, सामुदायिक विद्यालय परिवर्तन हुन सक्छ र त्यसको केन्द्रीय कडी प्रधानाध्यापक हुन् । दोस्रो, नेतृत्व जब उत्तरदायी र अपडेट हुन्छ, तब गुणस्तरीय शिक्षा सम्भव हुन्छ । तेस्रो, प्रधानाध्यापकहरू अब प्रशासनिक होइन, शैक्षिक परिवर्तनका संवाहक हुन् भन्ने भावना स्थापित गर्न चाहन्छौं ।
सामुदायिक विद्यालयमा गुणस्तर सुधार गर्न के गर्नुपर्छ ?
गुणस्तर सुधारको लागि हाम्रो दृष्टिकोण तीनै तहमा केन्द्रित छ— शिक्षक, विद्यार्थी र व्यवस्थापन । शिक्षकलाई प्रेरित गर्नु, विद्यार्थीलाई केन्द्रमा राख्नु, र विद्यालय व्यवस्थापनमा पारदर्शिता ल्याउनु नै हाम्रो मूल मन्त्र हो । हामी विश्वास गर्छौं— गुणस्तरीय नेतृत्व बिना गुणस्तरीय शिक्षा सम्भव छैन । हामीले शिक्षण सिकाइको वातावरण, पठनपाठन प्रविधि, शैक्षिक योजना तथा स्थानीय पाठ्यक्रम निर्माणमा प्रधानाध्यापकहरूलाई केन्द्रमा राखेर काम गरिरहेका छौं । पान परिवर्तनको उत्प्रेरक हो— हामी परिवर्तन थोपर्ने होइन, प्रेरित गर्ने संस्था हौं ।
प्रधानाध्यापकहरूलाई अपग्रेड, अपडेट र इम्पावर गर्ने गर्नुभयो, त्यो कसरी गर्नुहुन्छ ?
पानले हाल जिल्लादेखि केन्द्रसम्मका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । हामीले क्ष्ऋत्, विद्यालय नेतृत्व, शैक्षिक नवप्रवर्तन र अन्तरक्रियात्मक नेतृत्व विषयमा तालिमहरू सञ्चालन गरेका छौं । प्रमुख कुरा, हामीले प्रधानाध्यापकलाई प्रेरणा दिने मात्र होइन, प्रणालीमा उनीहरूको सक्रियता अभिवृद्धि गरिरहेका छौं । हामीले केही अन्तराष्ट्रिय संस्थाहरुसँग सहकार्य गरिरहेका छौं । मूर्त रुपमा कार्यक्रम नबन्दै म धेरै भन्दिन तर निकै धेरै काम भएको छ । छिट्टै ती कार्यक्रमहरु कार्यान्वयनमा प्रअहरुले अनुभूत हुनेगरी आउनेछन् ।
सरकार र अन्य निकायहरूसँग पानको सहकार्य कस्तो छ ?
हाम्रो सहकार्य संवादात्मक र रचनात्मक छ । हामी मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, स्थानीय सरकार र विभिन्न विकास साझेदारहरूसँग नियमित समन्वयमा छौं । हामी कसैसँग पनि प्रतिस्पर्धा होइन, सहकार्यमा विश्वास गर्छौं । हामीले हाम्रो बाटो तय गरेका छौैैैैैं । हाम्रो उद्देश्य एकदमै प्रष्ट छ कि हामीले राजनीतिक विषयवस्तुलाई संस्थाभित्र प्रवेश गर्न दिँदैनौं । साथीहरुले व्यक्तिगत रुपमा आफ्नो आस्था राख्ने स्वतन्त्र हुनुहुन्छ, तर संस्थाभित्र त्यो प्रवेश हुँदैन । हामीले हाम्रो अधिकारको कुरा पनि गर्दैनौ । हाम्रो उत्तरदायित्व र कर्तव्यको कुरा गर्दछौ र प्रअको जिम्मेवारीलाई कसरी राम्ररी निर्वाह गर्न सकिन्छ भन्ने कुरा बढी गर्छौ । त्यसका लागि प्रअको क्षमता विकास गर्ने कार्यक्रम मात्रै हामीले विकास गर्छौ । हाम्रो उद्देश्य अन्ततः नेपालको सामुदायिक शिक्षाको अवस्था बदल्ने हो । पान नेपालको सामुदायिक सार्वजनिक शिक्षामा एउटा ऐतिहासिक कोशेढुंगा बन्ने छ ।
देशको शैक्षिक नीतिमा सुधार ल्याउन के गर्नुपर्छ ?
हामी नीतिगत रूपमा ’विद्यालय नेतृत्वलाई शिक्षाको मुटु’ भन्ने अवधारणालाई स्थापित गर्न चाहन्छौं । नीति निर्माणमा कार्यरत शिक्षक, प्रधानाध्यापक र समुदायको आवाज समावेश हुनु आवश्यक छ । हामी नीति ’उपरी तह’बाट होइन, ’कार्यान्वयन तह’बाट बन्नुपर्नेमा जोड दिन्छौं ।
शिक्षामा तीब्र निजीकरण भइरहेको छ । बढ्दो निजीकरणको चुनौतीलाई पानले कसरी हेर्छ?
निजी शिक्षा चुनौतीकै रुपमा आएको छ जस्तो मलाई लाग्दैन । सामुदायिक शिक्षा अस्तव्यस्त हुँदा मानिसहरुले बाध्यताको विकल्प राजेका हुन् । सामुदायिक विद्यालयहरूमा पनि गुणस्तर, व्यवस्थापन र नवप्रवर्तन ल्याउन सके निजीकरण स्वतः सन्तुलित हुन्छ । हामी राज्यको उत्तरदायित्वको रक्षा गर्दै सुधारको बाटोमा जानुपर्छ भन्दछौं । राज्य बलियो हुनुपर्छ । राज्य सक्षम भयो भने सबै कुरा व्यवस्थित बन्दै जान्छन् ।
आउँदा दिनमा पानले कुन–कुन क्षेत्रमा प्राथमिकता दिने योजना बनाएको छ?
हामी तीन क्षेत्रमा प्राथमिकता दिन्छौं— एक, प्रधानाध्यापक सशक्तिकरण; दुई, विद्यालय नेतृत्व प्रणालीको नवप्रवर्तन; र तीन, अन्तर्राष्ट्रिय सहकार्य तथा अनुसन्धान संस्कृति । साथै, शिक्षा नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने रणनीति पनि बनाएका छौं । हामी आफूलाई बदल्नुपर्छ भन्नेमा छौ । हामी अरुको मुख ताक्ने होइन, आफैले गरेर देखाउनुपर्र्छ भन्ने सोचाइतिर गएका छौ । एक प्रअ बदलियो भने, मनैदेखि संकल्प गर्यो भने विद्यालय बदलिन्छ भन्ने मलाई लाग्छ ।


