EduPress
'

हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलमा

Author Image
सोमवार, असोज २७, २०८२
Text Size:

काठमाडौँ, असोज २७ । लामो समयदेखि जीवित भेटिने आशामा प्रतीक्षा गरिरहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अब स्पष्ट भएको छ । जोशी अब जीवित नरहेको पुष्टि भएपछि उहाँको शव इजरायल ल्याउने प्रक्रिया सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बीबीसी र टाइम्स अफ इजरायलले सोमबार प्रकाशित समाचारमा उल्लेख गरेअनुसार, हमासले आफ्नो नियन्त्रणमा रहेका चार जना मृत बन्दीको नाम सार्वजनिक गरेको छ, जसमा एक नेपाली विद्यार्थी विपिन जोशी पनि समावेश छन् ।

टाइम्स अफ इजरायलका अनुसार, हमासले सार्वजनिक गरेको सूचीमा गाई इलुज, योसी साराबी, विपिन जोशी, र ड्यानियल पेरेजको नाम समावेश छ । ती चारैजनाको शव रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ, तर हस्तान्तरणको मिति भने स्पष्ट गरिएको छैन ।

कृषि विषयका विद्यार्थी जोशी अध्ययनका लागि इजरायल गएका थिए । उहाँको अवस्था सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि अज्ञात रहँदै आएको थियो ।

अन्य मृतकहरूमध्ये इलुजलाई नोभा संगीत उत्सवबाट अपहरण गरिएको थियो भने उपचार नपाएर उनको मृत्यु भएको पुष्टि गत डिसेम्बरमा गरिएको थियो । २२ वर्षीय ड्यानियल पेरेज इजरायली सेनाका पल्टुन कमाण्डर थिए, जसको मृत्यु हमाससँगको भिडन्तमा भएको थियो । ५३ वर्षीय योसी साराबीलाई आफ्नै घरबाट अपहरण गरी बन्धक बनाएर हत्या गरिएको थियो ।

इजरायली सेनाका अनुसार, रेडक्रसका प्रतिनिधिहरू ती चारैजनाको शव बुझ्नका लागि दक्षिण गाजातर्फ प्रस्थान गरिरहेका छन् ।

यो घटनाले एक वर्षअघि भएको ७ अक्टोबर २०२३ को हमास आक्रमणपश्चात सुरु भएको इजरायल–हमास द्वन्द्वको मानवीय पक्ष पुनः उजागर गरेको छ । सो आक्रमणमा सयौँले ज्यान गुमाएका थिए भने दर्जनौँ अझै बेपत्ता छन् ।

बीबीसीका अनुसार, हमासले ७३८ दिनदेखि नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव अब इजरायललाई बुझाउने तयारी गरेको हो । यसअघि उहाँको अवस्था अज्ञात रहेको बताइएको थियो ।

हालै भएको युद्धविरामपछि हमासले नियन्त्रणमा रहेका २० जीवित बन्धकहरूलाई मुक्त गरिसकेको र बाँकी २८ जनाको मृत्यु भएको ठानिएको पनि जनाएको छ । जोशीसहित चार जनाको शव सोमबार अबेर रेडक्रसलाई हस्तान्तरण गर्न लागिएको हमासको सैन्य एकाइले पुष्टि गरेको छ ।

Views: 28

प्रतिक्रिया

सम्बन्धित खबर